लुम्बिनी घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा वृद्धि


पालिका पत्र

६ चैत्र २०७९, सोमबार १५:३२ मा प्रकाशित

बुटवल । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि सन् २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो ।

सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर सन् २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले संचारकर्मीसँग कुरा गर्दै सन् २०२३ को पछिल्लो तीन महिनासम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताए ।

प्रमुख राईले सन् २०२१ मा १ हजार १ सय ९७ जना विदेशी, ४३ हजार ७ सय ३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९ सय ६३ पर्यटक आएको बताए । उनले सन् २०२२ मा विदेशी पर्यटक २३ हजार ९ सय ४२, भारतीय २ लाख ३० हजार ८ सय ६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताए ।

सन् २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक बाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको प्रमुख राईले बताए।

प्रमुख राईले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताए । उनले सन् १९९६ मा विश्व सम्पदामा राख्ने सूचिमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताए ।

तिलौराकोटको सन् २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको प्रमुख राईले बताए।

प्रमुख राईले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताए । उनले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताए।

गुरुयोजना सम्पन्न गर्नको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको पनि प्रमुख राईले बताए ।

प्रतिक्रिया दिनुहोस्