लुम्बिनीमा पर्यटकको संख्या बढ्यो, बस्दै नबसी फर्कने क्रम रोकिएन


पालिका पत्र

२५ चैत्र २०७९, शनिबार १७:०७ मा प्रकाशित

बुटवल, २५ चैत ।
कोभिड महामारीका बेला खस्किएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै लयमा आउन थालेको छ । पछिल्लो तीन महिनामा लुम्बिनीमा करिव ९० हजार पर्यटक भित्रिएका छन् । यद्यपि लुम्बिनी आएका पर्यटक भने बस्दै नबसी फर्कने क्रम रोकिएको छैन । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ ।

लुम्बिनी विकास कोषले दिएको जानकारी अनुसार जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षभरका कुल विदेशी पर्यटकभन्दा पाँच हजार बढी हो ।

सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । जनवरी महिनामा तेस्रो मुलुकबाट ३ हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
एक वर्षअघि २०२२ को फेब्रुअरीमा ३०६ र मार्चमा ६२६ विदेशी पर्यटक मात्रै लुम्बिनी भ्रमणमा आएका थिए । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन बढे पनि कोरोना सुरु हुनु अघिको अवस्थामा भने पर्यटन क्षेत्र पुगेको छैन ।

सन् २०१९ को फेब्रुअरीमा २५ हजार र मार्चमा २९ हजार राहादानी वाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए । २०२० मा फेब्रुअरीमा २१ हजार विदेशी पर्यटक लुम्बिनी आएका थिए । चीनमा कोरोनाको प्रभाव बढ्दा मार्चमा उक्त संख्या आठ हजारमा झरेको थियो । कोरोनासँगै बन्दाबन्दीको कारण सोही वर्ष अप्रिलबाट भने लुम्बिनीको पर्यटन पनि ठप्प भयो ।

२०२१ को वर्षभर विदेशी पर्यटक आगमन ११ सय मात्र रह्यो । अहिले सबैभन्दा बढी थाइल्याण्डबाट सात हजार ७६० पर्यटक आएका छन् । श्रीलंकाका पाँच हजार १५८, म्यानमारका चार हजार ३४२, भियतनामबाट दुई हजार ९११ र दक्षिण कोरियाका दुई हजार ८८५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । चिनियाँ पर्यटकको संख्या भने बढ्न सकेको छैन । यो अवधिमा चीनबाट ३६९ जना पर्यटक मात्रै नेपाल आए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले हालै गरेको केही कार्यक्रमले पनि विदेशी पर्यटकको आगमन बढेको बताए । “कोरियन र थाइ पर्यटकलाई केन्द्रित गरेर कार्यक्रम गरेका थियौँ । यसले पनि पर्यटकहरुको संख्या बढेको छ,” उनले भने, “आगामी दिनमा पर्यटकको संख्या अझै बढ्ने संकेत देखिएको छ ।”

यो तीन महिनामा मुलुकभित्रैबाट एक लाख ७६ जना लुम्बिनी घुम्न आएका छन् । पर्यटकहरुको आगमनले लुम्बिनीका होटल पनि पहिले भन्दा केही चलायनमान देखिएका छन् । तर बास बस्ने पर्यटक खासै नआएको होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि होटल थपिए तर विमानस्थल पूर्ण सञ्चालन नआउँदा पर्यटक बस्दै नबसी फर्किन थालेका हुन् ।

पर्यटनविद् डा। गीतु गिरीले कोभिड जस्तो संक्रमण नफैलिए र यहाँ पर्यटकीय वातावरण तयार गरेमा लुम्बिनीमा पर्यटनको संकेत राम्रो देखिएको बताए । “अहिले भैरहवाबाट लुम्बिनी जाने पुलहरू नबन्दा अफ्ठ्यारो अवस्था छ । अन्तर्राष्ट्रिय विमानस्थल चल्नुपर्यो । पर्यटकहरुलाई गर्ने व्यवहार र सद्भाव पनि राम्रो हुनुपर्यो” –उनले भने ।

भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तयार भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । कुवेतको जजिरा एयरले सातामा तीनपटक उडान गरेको छ । अरु उडानहरु पनि थपेर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने हो भने लुम्बिनीमा खर्च गर्ने खालका गुणस्तरीय पर्यटक आउने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अप्रेटर (सोटो) का लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाई छ । लुम्बिनीमा फेब्रुअरी, मार्च, अक्टोवर र नोभेम्वर महिना पर्यटक आगमनको राम्रो सिजन मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्