पर्यटन प्रबद्धर्न र संस्कृतिको जगेर्ना गर्न दोस्रो बाणगंगा सडक खाना महोत्सवः संयोजक ठकुरी


पालिका पत्र

२६ चैत्र २०७९, आईतवार ०९:५१ मा प्रकाशित


कपिलवस्तु, २६ चैत्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा दोस्रो बाणगंगा सडक खाना महोत्सव हुने भएको छ । नव वर्ष २०८० को अवसर पारेर बाणगंगा वेल फेयर सोसाइटीले दोस्रो बाणगंगा सडक खाना महोत्सव गर्ने भएको हो । आयोजक संस्था सोसाईटीले चारनम्बर जितपुर तौलिहवा रोडमा सडक खाना महोत्सवलाई सभ्य रुपमा सम्पन्न गर्ने जनाएको छ ।


यसैविच बाणगंगा सडक खाना महोत्सवका संयोजक गणेश बहादुर सिंह ठकुरी (सुशील) ले पर्यटन प्रबद्र्धन र संस्कृतिको जगेर्ना गर्न दोस्रो बाणगंगा सडक खाना महोत्सव गर्न लागिएको बताए । उनले बाणगंगा सडक खाना महोत्सव ऐतिहासिक एवं पृथक खालको हुने बताएका छन् । उनले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन तथा सडक खाना महोत्सव लाई निरन्तरता दिन खाना महोत्सव गर्न लागेको बताए ।

संयोजक ठकुरीले सडक खाना महोत्सवमा खानाका स्टल रहने तथा विभिन्न जातजातीका खानाका परिकार राखिने बताए । उनले भने “हामि आन्तरीक तथा बाह्य पर्यटकलाई बाणगंगामा स्वागत गर्न आतुर छौं, त्यसैले खाना महोत्सव गरिएको हो ।” ठकुरीले १ दिने महोत्सवमा सांस्कृतिक उत्सवको सुगन्ध दिन विभिन्न जनजातिका स्थानीय खानाका परिकारहरु, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने बताए ।


यस्तै सोसाइटीका अध्यक्ष राजकुमार खाँणले खाना महोत्सवमा सांस्कृति कार्यक्रम नेपाली पञ्चे बाजा, ब्याण्डले खानासँगै यहाँ आउने पाहुनाहरुलाई मनोरंजन प्रदान गर्ने बताए । खाँणले स्थानीय तथा राष्ट्रिय कलाकारले महोत्सवमा सहभागीलाई भरिपूर्ण मनोरंजन प्रदान गर्ने बताए । व्यवसायीहरुलाई राहत दिन निःशुल्क स्टेजको कुनै शुल्क नलिई सडक खाना महोत्सव आयोजना गरिने खाँणले बताए ।

बैशाख १ गते नव बर्षको अवसरमा विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागिएको र सोही कामको तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडी स्वादिष्ट परिकारहरु रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्