कपिलवस्तु नगरपालिकाः जगदीशपुरमा वन बाटिका निर्माण हुँदै


पालिका पत्र

१३ जेष्ठ २०८०, शनिबार १९:०७ मा प्रकाशित


पालिका पत्र कपिलवस्तु, १३ जेठ ।
विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो। जगदीशपुर सिमसार तथा चरा संरक्षित क्षेत्र तथा सगरहवा स्थित शाक्यहरूको सामूहिक बध स्थलकारुपमा रहेका लम्बु सागरको नजिकै जगदीशपुर वन बाटिका निर्माण थालिएको वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङले बताए। वन क्षेत्रको ६ हेक्टर जग्गा छ। वन बाटिका निर्माण र संरक्षणका लागि चालु आर्थिक वर्ष २०७९/०८० मा वडाले साढे १८ लाख बजेट विनियोजन गरेको छ। त्यस मध्ये वन क्षेत्र भित्र तारबारको काम सकिएको वडा सचिव बिजय पोखे्रेलले बताए। त्यहाँ यसै वर्ष भित्र ट्रस्ट र गेट निर्माण र बोरिङ जडान गरिनेछ।

झरना सामुदायिक वनकी अध्यक्ष राधिका खनालले वनको संरक्षण सुन्दरीकरण र पर्यटकीय गन्तव्य बनाउन यहाँ वाटिका निर्माणको काम सुरु भएको बताईन। यसमा सबैले साथ दिनु पर्ने उनले माग गरिन। वन बाटिका निर्माणका लागि स्थानीय स्तरमा नीम प्रसाद खनालको संयोजकत्वमा निर्माण समिति समेत निर्माण गरिएको छ। वन बाटिका निर्माण स्थलमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल सहित कार्यपालिकाका टोलीले स्थलगत निरीक्षण गरी छलफल समेत गरेको छ। सो अवसरमा मेयर पौडेलले वन बाटिका निर्माणले यस क्षेत्र कै पर्यटकीय विकासमा मद्दत मिल्ने बताए। उनले आउने आर्थिक वर्षमा वन बाटिकालागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बुद्धनगरीमा पर्यटकीय विकासकालागि निर्माण थालिएको वन बाटिकाले पर्यटन प्रवर्धन हुने बताए। कार्यक्रममा सहभागी वडा नम्बर १ का अध्यक्ष माहोम्द जाहिद खा, २ का अशोक कुमार गुप्ता, ३ का प्रकाश गैरे, ४ का रवीन्द्र तिवारी, ५ का दिरेप चौधरी, लगायतका १२ वटा वडाका वडाध्यक्ष वन बाटिकालागि आगामी आर्थिक वष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा समाजसेवी संजय गुप्ताले वन बाटिकाको निर्माण गरी नगरकै पर्यटन प्रबद्र्धनको काम चाडै अघि बढाउनु पर्नेमा जोड दिए। सो निर्माणका लागि डिभिजन वन कार्यालय प्रदेश र संघीय सरकारसंग समेत बटे माग गर्ने निर्णय गरिएको छ।

प्रहरीलाई बिपद सामाग्री प्रदान

कपिलवस्तु नगरपालिकाले जल बिपदमा प्रयोग हुने ५ प्रकारका सामाग्री प्रहरीलाई हस्तान्तरण गरेको छ। मेयर सुदीप पौडल र उप मेयर सुनिता गुप्ताले प्रहरी नायब उपरिक्षक मीन बहादुर घललेलाई सो सामाग्री हस्तान्तरण गरेका हुन। लाइफ ज्याकेट २०, स्ट्रेचर ४, रिङ ट्युब, फाइबर ४, थ्रो ब्याग २ वटा प्रदान गरिएको हो। यी सामाग्रीहरू जगदीशपुर ताल र त्यस नजिकै हुने जल बिपदका बेला प्रयो गरिनेछन। जगदीशपुर तालमा अहिले ५ वटा डुङ्गा संचालन छन।

प्रतिक्रिया दिनुहोस्