अर्घाखाँचीको विक्रम पावराको चुरे क्षेत्रमा अवैध उत्खनन्

खाली रसिद देखाउँदै, कानुनको धज्जी उडाउँदै


पालिका पत्र

१५ जेष्ठ २०८०, सोमबार १८:२२ मा प्रकाशित

जेठ १५, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ स्थित विक्रम पावरा गाउँ नजिकै चुरे क्षेत्रबाट अवैध रुपमा स्काभेटर प्रयोग गरि उत्खनन् गरिएको भेटिएको छ । एक सडक निर्माण कम्पनीको नगरको खाली रसिद देखाउदै ठेकेदारले नियम कानुनको धज्जी उडाउदै मनपरि गरेको पाईएको हो ।

नगरपालिकाको मापदण्ड विपरित स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् गरिएको हो । ४ टिप्पर र केहि ट्रयाक्टरमा अवैध रुपमा ढुंगा, गिट्टी, वालुवा खोलाको छेउमा निकासी गरि खुलेयाम डम्पिङ गरिएको भेटिएको छ ।

स्काभेटर प्रयोग गरेको स्थानमा संचारकर्मी पुग्दा श्री एईबिसी अमर जेवी सन्धिखर्क नगरपालिका १ अर्घाखाँचीको १७५१ देखि १८०० सम्मको खाली रसिदको ठेली देखाउदै टिप्पर चालकहरुले नदिजन्य पदार्थको चरम दोहन गरेको भेटिएको हो । यसरी दोहन गरिएको नदिजन्य पदार्थ खुलेयाम क्रसरमा संकलन तथा खोला छेउमा डम्पिङ गरेको भेटिएको हो ।

उक्त कम्पनीले रसिद नकाटि डम्पिङ्ग गरेको र नदीजन्य पदार्थको ओसारपोसार गरेको भेटिएको छ । उक्त ठेकेदार कम्पनीमा कार्यरत एक कर्मचारीले खोलामा लगाएको स्काभेटर र टिप्पर आफु मातहत नभएको बताए ।

पावरा–पिपरा–चाकलचौडा सडकको लागि नदीजन्य पदार्थको निकासी गरिरहेको उक्त श्री एईबिसी अमर जेवी कम्पनीले बाटो निर्माणको काम गरिरहेको छ । कम्पनीले ४ वटा ट्रयाक्टर मार्फत बाणगंगा खोलाबाट दैनिक ढुंगा, गिट्टी, वालुवाको निकासी गरिरहेको बताउँदै स्काभेटर र टिप्पर आफ्नो नभएको कर्मचारीले बताए ।

पावरा विक्रम गाउँ नै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरि चुरे क्षेत्र दोहन गरेका छन् । शितगंगा नगरपालिकाले अर्घाखाँची सन्धिखर्क नगरपालिकाको श्री एईबिसी अमर जेवी कम्पनीलाई बाणगंगा खोलाको जरिकुना क्षेत्रबाट निकासीका लागि अनुमति दिएको छ ।

चुरे क्षेत्रबाट स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ निकासी गर्नु कानुन विपरित हो । तर स्थानीय सरकारले नै लगाएको ठेक्कामा मेसीनको अनुमति दिनु शंकास्पद देखिएको छ । तोकिएको मापदण्ड विपरित उत्खनन् हुंदा समेत अनुगमन निकाय मौन रहेका छन् ।

यस बिषयमा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालसंग बुझ्दा नदी क्षेत्रमा स्काभेटर मेसीन प्रयोगलाई निषेध गरिएको बताए । उनले खोला भन्दा बाहिर डम्पिङ्ग क्षेत्रमा नदीजन्य पदार्थको लोडका लागि मेसीनको प्रयोग गरेता पनि नदीबाटै निकासीका लागि स्काभेटर प्रयोग गर्न पुर्ण रोक लगाईएको बताए । खोलामा स्काभेटर प्रयोग भईरहेको बिषय आफुलाई जानकारी नभएको र तत्काल ठेकेदारलाई सम्पर्क गरि बुझ्ने उनले बताएका छन् ।

शितगंगा नगरपालिका १४ को कार्यालय नजिकै भएको उत्खनन् मा नगरपालिका बेखबर बन्नु रहस्यमय छ । यस विषयमा सत्यतथ्य बुझि तत्काल नगरले आवश्यक कदम चाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्