कपिलवस्तु नगरपालिकाका उपमेयर सुनिताका श्रीमानको ज्यादती

कर्मचारी आन्दोलित


पालिका पत्र

८ असार २०८०, शुक्रबार १९:०१ मा प्रकाशित


कपिलवस्तु, असार ०८ ।
नगर उपप्रमुखका श्रीमानको ज्यादतीविरुद्ध कपिलवस्तु नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुलाई थर्काउने,धम्क्याउने, गालीगलौज गर्ने,तथा आफूले भनेअनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिने भन्दै शुक्रबारदेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरु बताउँछन् । “यहाँ काम गर्ने वातावरण छैन,उपप्रमुखभन्दा पनि उनका श्रीमान हावी छन् जसको कुनै हैसियत नगरपालिकाभित्र छैन” एक कर्मचारीले भने ।

उपमेयर श्रीमतिको आडमा उनका श्रीमान सन्जय गुप्ताले कर्मचारीहरुलाई अनेकन दुःख दिएकै कारण आजदेखि पेन डाउन घोषणा गर्नुपरेको कर्मचारीहरु बताउँछन् । साथै नगरपालिका कार्यालयले नै उपप्रमुखका श्रीमान गुप्ताविरुद्ध गाली बेइज्जतीमा कारवाही निम्ति पत्राचार नै गरेको छ ।

श्रीमती उपमेयर बन्दा श्रीमानहरुलाई काइदाको फाइदा भएको ज्वलन्त उदाहरण कपिलवस्तु नगरपालिका हो । कुनै बेला १ सयका सामान ५ सयमा स्थानीय पालिकामा सप्लाई गर्दै आएका सन्जय इन्टरप्राइजेजका मालिक सन्जय गुप्ताले स्थानीय निर्वाचनमा आफ्ना नेता वृजेश गुप्ताविरुद्ध उत्रिएर श्रीमतीलाई जसपाबाट उपमेयर उम्मेदवार बनाएका थिए । मेयरमा उठेका लोकप्रिय युवा सुदिप पौडेलको प्रभावले उनी संगै गुप्ताले पनि चुनाव जितिन् । तर चुनाव जितेको अर्को दिनदेखि उपप्रमुख सुनिताको नाममा शासन भने लोग्ने सन्जयले गर्दै आएका छन् ।

उपप्रमुखको हैसियतले हुने जुनसुकै कार्यक्रम,नीति,योजना निर्माण तथा अनुगमनमा श्रीमान सन्जय गुप्ता नगई श्रीमती जाँदिनन् वा गुप्ताले जानै दिन्नन् । नगरपालिकाभित्र सन्चालन हुने योजनाहरुको अनुगमन संयोजक उपप्रमुख गुप्ता भए पनि श्रीमानले गरेर ठेकेदार वा उपभोक्तासंग सेटिङ्ग नमिलेसम्म उनीहरुको योजना पास हुँदैन । जसका कारण नगरपालिकामा चरम विवाद बढ्दै गएको छ ।

योजनाको मूल्यांकन गर्दा प्राविधिक कर्मचारीहरुलाई धम्क्याउने र उपमेयरका श्रीमानले भनेसरी योजनाको मूल्यांकन तलमाथि नगरे गालीगलौजसमेत गर्ने गरेका छन् । आफूले भनेका व्यक्तिहरुलाई उपभोक्ता समितिमा नराखे योजना सम्झौतामै अवरोध गर्ने, कमिशनमा नयाँ नयाँ योजनामा बजेट हाल्ने देखि लिएर नगरकार्यपालिका बैठकहरुमा समेत उपमेयरका श्रीमानले अवरोध तथा हस्तक्षेप गर्दै आएका थिए । अरु त अरु पालिकाले लगाएको नदीजन्य पदार्थ ठेक्कामा समेत उपमेयरका श्रीमान गुप्ताले ठेकेदारसंग अनुगमनका नाममा मासिक १ लाख रुपैयाँ उठाउँदै आएका थिए ।

मासिक नदिनेहरुलाई भने उनले अनेकन दुखः दिने गरेको स्थानीयवासी बताउँछन् । यही १० गते हुन गइरहेको नगरसभाको तयारीमा जुटेका कर्मचारीहरु आन्दोलित भएपछि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु समेत तनावमा छन् ।

प्रतिक्रिया दिनुहोस्