गतवर्ष भन्दा २८ करोड बढी बाणगंगाको बजेट


पालिका पत्र

25 June, 2023 6:15 pm मा प्रकाशित


कपिलवस्तु, असार १० ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले गतवर्ष प्रस्तुत १ अर्ब २८ करोड बजेटमा थप २८ करोड वढाएर १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाको वजेट नगरसभामा पेश गरेको छ ।

नगरपालिकाको १३ औं नगरसभाको पहिलो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि रु १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको बजेट उप प्रमुख रीता कुमारी चौधरीले नगरसभामा पेश गर्नु भएको हो ।

उक्त बजेटमा संघीय सरकारबाट प्राप्त शसर्त चालु बजेट रु. ४४ करोड ९५ लाख, पूँजीगत रु. ३ करोड ४५ लाख, संघीय विशेष रु. ५० लाख, संघीय समपुरक रु. ६० लाख गरी जम्मा रु. ४९ करोड ५० लाख प्रस्तुत गरिएको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त शसर्त चालु वजेट रु.५८ लाख, पूँजीगत रु. १ करोड ३२ लाख, प्रदेश समपुरक रु. १ करोड ५० लाख गरी जम्मा रु. ३ करोड ४० लाख रहेको छ ।


सामाजिक सुरक्षातर्फ रु. ३७ करोड र योजना तथा कार्यक्रमको लागत सहभागिता रु. ३ करोड ५० लाख गरी जम्मा रु. ९० करोड ८० लाख बाडफाड गरिएको छ ।

यस्तै वाँकी ६२ करोड ५९ लाख ९२ हजार बजेट मध्येबाट आर्थिक विकास मा रु. ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा रु. ५२ करोड, पूर्वाधार विकासमा रु. ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा रु. २० करोड २४ लाख ५० हजार बाडँफाँड गरिएको छ ।


यता चालु आर्थिक वर्षको समष्टिगत बित्तीय प्रगति अन्तर्गत चालु आ. व. २०७९/०८० मा कूल आय अनुमान १ अर्ब २८ करोड ८२ लाख ४६ हजार रहेकोमा जेष्ठ मसान्तसम्म १ अर्ब ८ करोड ७७ लाख ६० हजार प्राप्त भएको छ ।

आन्तरिक आम्दानीको समिक्षा गर्दा प्रस्तावित आय रू. ६ करोड ७२ लाख ८१ हजार अनुमान गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रू. ५ करोड ८४ लाख ५८ हजार मात्र असुली भई ८६.८८ प्रतिशत आन्तरिक आयतर्फको लक्ष्य प्राप्त गरिएको उल्लेखछ । वार्षिक लक्ष्य भन्दा आम्दानी बढी हुने संसोधित अनुमान रहेकोछ ।


चालु आर्थिक वर्ष २०७९/०८० को खर्चको संक्षिप्त समिक्षा गर्दा प्रस्तावित वजेट रू. १ अरब २८ करोड ८२ लाख ४६ हजार मध्ये चालुतर्फ रु. ७० करोड ९१ लाख ९३ हजार विनियोजन गरिएकोमा २०८० जेष्ठ मसान्तसम्म रु. ४५ करोड ७१ लाख ५९ हजार ६४.४५ प्रतिशत र पूँजिगत खर्चतर्फ रू.५७ करोड ९० लाख ५३ हजार विनियोजन गरिएकोमा रु. २६ करोड ७४ लाख ३२ हजार गरी ४६.१८ प्रतिशत खर्च भएको छ ।

समग्रतामा हेर्दा चालु र पूजीगत दुबैगरी गरी जम्मा ५६.२४ प्रतिशत खर्च प्रगति भएको छ । आगामी आषाढ मसान्तसम्म करिब ८५ प्रतिशत भन्दा बढी खर्च हुन सक्ने संसोधित अनुमान गरिएको छ ।


उपमयेर चौधरीले बजेट प्रस्तुत गर्ने क्रम मै नगरसभाका सदस्यहरुले वडा नम्बर १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेललाई डिभिजन वन कार्यालय तौलिहवाले नियन्त्रणमा लिई हिरासतमा राखेको प्रति विरोध गर्दै सूचित गरेपछि स्थानीय तह ऐन २०७४ अन्तर्गत बाणगंगा नगरपालिकाको नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा १९ बमोजिम अर्को सूचना जारी नभए सम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरिएको थियो ।

कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरसभामा वजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्