कक्षा १२ उत्तीर्ण गरी विवाह गर्ने महिलालाई निस्दीले गर्यो सम्मान


पालिका पत्र

११ असार २०८०, सोमबार १९:२१ मा प्रकाशित

पाल्पा, असार ११ । पाल्पाको पूर्वीक्षेत्रमा रहेको निस्दी गाउँपालिकाले आफ्नो पालिका भित्र बसोबास गर्ने २० बर्ष पुगेर विवाह गर्ने २४ जना महिलाहरूलाई सम्मान गरेको छ । गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर मात्रै विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गर्ने नीति अनुरुप उनीहरुलाई सम्मान गरेको हो ।

बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको निस्दीले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको बताइएको छ । आर्थिक वर्ष २०७९/८० को बार्षिक कार्यक्रम अनुसार नै आर्थिक बर्षको शुरुवात अर्थात साउन १ देखि बैशाख ३१ गते सम्म गाउँपालिका भित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

गाउँपालिका केन्द्र मित्यालमा भएको सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीको प्रमुख समस्याका रुपमा रहेको बालविवाहलाई न्यूनीकरणका लागि शिक्षित महिलाहरुको भूमिका महत्वपुर्ण हुने बताए । उनले महिलाहरुलाई शिक्षा तर्फ उत्प्रेरित गर्नका लागि गाउँपालिकाले यो किसिमको कार्यक्रम तय गरेको समेत उल्लेख गरे ।
यस्ता खालका प्रोत्साहन मूलक कार्यक्रमले बालविवाह न्यूनिकरण गर्न प्रोत्साहन हुने समेत उनले बताए । निस्दी गाउँपालिकामा बालविवाह गर्नेको संख्या बढिरहेकाले पनि बालविवाह न्यूनीकरणका लागि यो सम्मान कार्यक्रमले थप प्रोत्साहन गर्ने अध्यक्ष सारुले बताए ।

गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालविवाह रोकेर छोरीहरुलाई शिक्षामा प्रोत्साहन गर्ने निर्णय गरेको बताइन् । प्लस टू उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै बिवाह गर्ने छोरीहरुलाई सम्मान स्वरुप नगद सहित पुरस्कृत गरिने निर्णय गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन् । ‘गाउँपालिकाको यो निर्णयबाट छोरीहरुलाई पढाउनुपर्छ र उमेरै नपुगी विवाह गर्ने चलनको अन्त्य हुने अपेक्षा गरेका छौँ,’ उपाध्यक्ष श्रेष्ठले भनिन् ।

महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेट मार्फत बालविवाह न्यूनिकरण गर्न तथा शिक्षामा प्रोत्साहन गर्न कार्यक्रम गरेको उनले बताइन् । प्रोत्साहन पुरस्कार नगद सहित निस्दी गाउँपालिका १ नम्बर वडा बाहेक सबै वडाका २४ जना महिलाहरुलाई जनही ८ हजार रुपैया नगद सहित सम्मान पत्रले सम्मान गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा सहभागिताका लागि गत जेठ ११ देखि १७ गते सम्म आवश्यक कागज पत्रहरु सहित निवेदन आह्वान गरिएको गाउँपालिका सूचना अधिकारी अर्जुन खनालले जनाए । प्रोत्साहन पुरस्कारका लागि नेपाली नागरिकताको प्रमाण पत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता नम्बर निस्दी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न अनुरोध गरिएको उनले बताए ।

यसअघि निस्दी गाउँपालिकाले गाउँपालिका भित्रका स्नातकोत्तर तह (डिग्री) उत्तीर्ण १० जना महिलाहरुलाई नगद सहित सम्मान गरेको थियो । स्नातक तह उर्तीण गरेकोलाई पनि मध्यनजर गरि छलफलको चरणमा रहेको र आगामी आवमा नीति तथा कार्यक्रममा समावेशका लागि प्रक्रियामा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिमला आचार्यले बताइन् । बालविवाह उच्च रहेको निस्दीमा महिला लक्षित कार्यक्रमले निरन्तर रुपमा सार्थकता पाउँदै गएको आचार्यको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्