असल अभ्यासमा ४ सय २२ नमूना विद्यालयमध्ये कालिका मानव ज्ञान मावि प्रथम


१९ असार २०८०, मंगलवार १९:४५ मा प्रकाशित

पालिकापत्र,बुटवल । सामुदायिक विद्यालयहरुले गर्ने असल अभ्यासहरुको मूल्यांकनमा बुटवलको कालिका मानवज्ञान मावि देशभरमै प्रथम भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव श्रोत विकास केन्द्रले देशभरका ४२२ नमूना सामुदायिक विद्यालयहरुले गरेका असल अभ्यासहरुको संकलन, प्रकाशन र प्रबोधिकरणको मुल्यांकनमा कालिका मानवज्ञान मावि प्रथम भएको हो । ७ हजार ६ सय ३९ विद्यार्थीहरु अध्ययरत कालिका मानवज्ञानले प्रार्थना समयमा सांगितिक पिटी (व्यायाम) सहित सिकाईमा समेत नवीन अभ्यास गर्दै आएको छ । यस्तै प्रोजेक्टमा आधारित सिकाईको व्यवस्था, अस्थायी शिक्षक कल्याणकारी कोष,स्थानीय सरकारसंग विद्यार्थी, किसानसँग विद्यार्थी, वृद्धाश्रममा विद्यार्थी, किसानसँग विद्यार्थी जस्ता कार्यक्रमहरु विद्यालयले संचालन गर्दै आएको छ.
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले विद्यालयले आधुनिक बाल विकास कक्षा व्यवस्थापन, शिक्षकहरुलाई १० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था, डिजिटल स्कूल म्यानेजमेन्ट एप्लिकेशनको प्रयोग गरी विद्यार्थी र अभिभावकसंग सम्पर्क, परीक्षा प्रणालीमा सुधार, एकिकृत पाठ्यक्रम प्रणाली लागू गरि सिक्ने सिकाउने प्रणालीको विकास, विषयगत समितिमार्फत जिम्मेवारी लिने र विषयगत जवाफदेही हुने पद्दतिको विकास जस्ता असल अभ्यासहरु गरेकाले प्रथम भएको बताए ।
यो वर्षमात्र विद्यालयले ललिलपुर, स्याङ्जा, पाल्पा, रोल्पा, प्युठान, कपिलवस्तु, गुल्मी, नवलपुर, बाके, बर्दिया, कैलाली, जुम्ला लगायत जिल्लाका डेढ दर्जन भन्दा बढी पालिकाहरुमा असल अभ्यासका कार्यक्रम गरेका विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।
रुपन्देहीमा मात्रै नमुना विद्यालय ८ वटा छन् । असल अभ्यासमा प्रथम भएपछि विद्यालयले विद्यालय आसपासका आठ वटा सामुदायिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधिमध्ये एक र विद्यालयका प्रधानाध्यापकलाई तालिम गराउने जिम्मेवारी पाएको छ ।
विद्यालयबाट यो वर्ष १५ जनाले एमबिबिएसमा पूर्ण छात्रवृत्ति पाएका छन् । देशभरमै सरकारी स्कुलबाट सबैभन्दा धेरै नाम निकाल्ने विद्यालय कालिका मानवज्ञान भएको उनले दाबी गरे ।
यस्ता छन् असल अभ्यासहरुः
हरेक शैक्षिक बर्षको शुरुमा शिक्षण विधि अभिमुखिकरण तथा अभिबृद्धि कार्यक्रम
प्रश्नपत्र निर्माण कार्यशाला सञ्चालनबाट प्रश्नपत्र निर्माण
विद्यार्थीहरुकै सहभागिता र नेतृत्वमा विद्यार्थी आचारसंहिता निर्माण र सफल कार्यान्वयन,
अतिरिक्त क्रियाकलाप सञ्चालन र अभ्यासको जिम्मा विद्यार्थी हुने
शिक्षक कर्मचारीकै सहभागितामा शिक्षक कर्मचारी आचारसंहिता निर्माण र कार्यान्वयन,
कक्षा कोठालाई प्रभावकारी बनाउन आइसिटीको प्रयोग, विना शैक्षिक सामग्री शिक्षकलाई कक्षा कोठामा प्रवेश नगर्ने प्रतिबद्धता, कक्षा कोठामा पुग्दा शिक्षक मुस्कान सहित प्रस्तुत हुने,
नैतिक शिक्षा र व्यवहारिक अभ्यासलाई जोड,
रेस्पोन्सिबिलिटी र एकाउन्टबिलिटी को सिद्धान्तलाई व्यवहारिक रुपमा प्रयोग,
अभिभावक प्रशिक्षण,
कक्षा मनिटरलाई प्रशिक्षण, र पूर्ण जिम्मेवारी हस्तान्तरण,
हरेक दिनको प्रार्थना समयमा महत्वपूर्ण घटना र विषयमा विचार राख्ने अवसर र आकर्षक साङ्गीतिक पिटीको व्यवस्था,
खेल तथा साहित्यीक विधामा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था
विद्यार्थीहरुको सहज र पहुँचमा उजुरी पेटीका राख्ने र इन्चार्जद्वारा त्यसको उचित ढंगले सुनुवाई गर्ने व्यवस्था गरिएको,
वार्षिक शैक्षणिक योजना, शिक्षक तालिम, शैक्षिक सामग्रीहरुको निर्माण तथा खरिद सहित शैक्षिक वर्षको सुरुवातमै सबै शिक्षकले आ–आफ्नो तयारी पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको,
प्रत्येक विद्यार्थीहरुको प्रोफाइल तयार गरी विद्यार्थी मूल्याङ्कनको व्यवस्था,
सफ्ट स्किललाई पूर्ण रुपमा लागु गरी कक्षालाई प्रभावकारी बनाउदै सिकाइ उपलब्धिलाई मापनयोग्य गरिएको,
विद्यार्थीहरुलाई पूर्ण सफल हुने पद्दतिको अबलम्बन,
नियमित रुपमा मूल्याङ्कन, मासिक, २ वटा त्रैमासिक, १ वार्षिक र २ वटा त्रैमासिक मौका परीक्षा सञ्चालन र कुनै विषयमा असफल भए मौका परीक्षाको अवसर,
कक्षा ११ र १२ का हरेक आन्तरिक त्रैमासिक परीक्षामा डण्५ भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति र बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको, जम्मा भर्नाको ५ प्रतिशत विद्यार्थीहरुले पूर्ण छात्रबृत्ति प्रदान,
नियमित रुपमा प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलाप (हरेक शुक्रबार ५औं घण्टी पश्चात) सञ्चालन,
अभिभावक विद्यार्थी र शिक्षकहरुबीच अन्तक्र्रिया कार्यक्रम सञ्चालन,
शिक्षक, विद्यार्थी र अभिभावक सम्मानको व्यवस्था
कक्षागत इन्चार्जको व्यवस्था,
बालविकास कक्षामा प्रवेश गर्ने बालबालिकालाई विद्यालय पोसाक निःशुल्क वितरण,
अंग्रेजी र नेपाली दुवै माध्यमलाई अवलम्बन गरिएको, (कक्षा ६ देखि कक्षा १२ सम्म)
दण्डहीन (बालमैत्री) शिक्षण सिकाइ अभ्यास,
औसत सिकाइ उपलब्धिका आधारमा शिक्षकहरुको बीच प्रतिस्पर्धात्मक वातावरण तयार गरी प्रत्येक वर्षको लागि उत्कृष्ट शिक्षकहरुको घोषणासहित पुरस्कृत गर्ने व्यवस्था,
किसानसंग विद्यार्थी कार्यक्रम सञ्चालन
विद्यालय श्रोत दरबन्दीका शिक्षकहरुको तलब सरकारी तलब स्केल अनुसार र अतिरिक्त सुविधाको व्यवस्था, सञ्चय कोष र विमा सुविधा
बालविकास देखि कक्षा ३ सम्म झोला बिना विद्यालय आउने व्यवस्था
निःशुल्क छात्रावासको व्यवस्था

प्रतिक्रिया दिनुहोस्