पहिलो ‘QAA’ प्राप्त सिद्धार्थमा ‘प्लस टु’ तर्फ बिहानी र दिवा दुबै कक्षा सञ्चालन हुने


पालिका पत्र

२३ असार २०८०, शनिबार १६:५६ मा प्रकाशित

कपिलवस्तु, असार २३ । कपिलवस्तुकै पहिलो अन्तर्राष्ट्रियस्तरको ‘QAA’ गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्न सफल सिद्धार्थ क्याम्पस बुङ्चीमा प्लस टु तर्फ बिहानी र दिवा दुबै कक्षा सञ्चालन हुने भएका छन् । २०४८ सालदेखि संचालित कपिलवस्तुकै सबैभन्दा पुरानोमध्ये एक यस क्याम्पसमा पहिलोपटक कक्षा ११ को पढाई ‘विहानी सिफ्ट’ मा संचालन गरिने भएको हो ।

विद्यार्थीको आवश्यकता र रुचीलाई मध्यनजर गर्दै साउन २ गतेदेखि क्याम्पसमा कक्षा ११ को पढाई विहानमा संचालनमा आउने भएको क्याम्पस प्रशासनले जनाएको छ । अहिले क्याम्पसमा कक्षा ११ मा ११५ र कक्षा १२ मा १३० गरी २४५ विद्यार्थी अध्ययनरत छन् ।

धेरै पहिलेदेखि अभिभावक र विद्यार्थीको यस खालको माग भएपनि अहिले निर्णय गरिएको सहायक क्याम्पस प्रमुख गोविन्द खनालले बताए । खनालले नयाँ भर्ना आरम्भसंगै विहानी सिफ्ट संचालन हुने जानकारी दिए । यससंगै अब विहान र दिउसो दुवै समयमा कक्षा ११ का विद्यार्थीले अध्ययनको मौका पाउने छन् ।

क्याम्पस प्रमुख बेदराज अर्यालले विहानी सिफ्टको कक्षा संचालनले विद्यार्थीलाई थप सहज हुने बताए । अर्यालले एसईईको नतिजा आएसंगै शिक्षा, मानविकी र ब्यवस्थापन संकायमा कक्षा ११ मा भर्ना खुलेको समेत बताए । बिहानी कक्षाका लागि यातायातको व्यवस्था पनि रहेको उनले जानकारी दिए ।

‘प्लस टु’ तर्फ शैक्षणिक कार्यक्रम संयोजक राज कुमार अर्यालले ‘प्लस टु’मा पनि अंग्रेजी र नेपाली दुवै माध्ययममा अध्यापन हुने बताए ।

त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त यो क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको ‘त्तब्ब्’ मान्यता पाउने जिल्लाको पहिलो क्याम्पस पनि हो । गुणस्तरिय शिक्षाको पर्याय बनेको सिद्धार्थ क्याम्पसले ‘प्लस टु’देखि ‘मास्टर्स लेभल’सम्मको अध्यापनमा आफूलाई अब्बल सावित गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्