लुम्बिनी वाणिज्य क्याम्पसमा विज्ञान तथा प्रविधि संकाय थपिँदै


पालिका पत्र

२४ असार २०८०, आईतवार १३:१६ मा प्रकाशित

बुटवल, असार २४ । रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पसलाई बहुसंकाय क्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को १३औं सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाएको बताएका हुन्।

जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष पाण्डेले हाल व्यवस्थापन संकायको मात्र पठनपाठन हुँंदै आएकोमा भविष्यमा मानित विश्वविद्यालयको रूपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि संकाय थप गरी बहुसंकाय क्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि बढाइएको बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसलाई मानित विश्वविद्यालयको रूपमा स्थापित गर्न बुटवल, १२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० विगाह जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने बताए।

अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी ५ वटा स्वायत्त कार्यक्रमहरू संचालन गरिरहेको जानकारी दिए। पाण्डेका अनुसार सेमेष्टर प्रणालीमा आधारित २ वर्षे मास्टर अफ म्यानेजमेन्ट स्टडिज र चार वर्षे व्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन इन्फरमेसन टेक्नोलोजी संचालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको छ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले बुटवलको विकासमा लुम्बिनी वाणिज्य क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए । उनले यहाँका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउनका लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसंकाय क्याम्पसको रूपमा स्थापित गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले सबै संकायमा गरी ३ हजार २१२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरी दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको उल्लेख गरे । क्याम्पसले तेस्रो पटकको लागि पनि क्यूएए प्राप्तिको प्रक्रिया अगाडि बढाएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

तत्कालीन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीहरूको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा संचालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आइकम कक्षा सुरू गरेको थियो । पाँच वर्ष पछि २०४२ सालमा स्नातक तहको बि.कम. र २०५७ सालमा स्नातकोत्तर तहको एमविएस कक्षा संचालन गरेको क्याम्पस २०६३ सालमा ए स्किममा पर्न सफल भएको थियो ।

२०७० सालमा पहिलोपटक सेमेष्टर प्रणालीको वि.वि.एम. कक्षा संचालन गरेको थियो । त्यस्तै २०७४ सालदेखि स्वायत्त कार्यक्रम अन्तर्गत एम.वि.ए. वि. एफ, २०७६ सालमा वि.वि.एफ.ए र एम.वि.एस. फाइनान्स तथा २०७७ सालबाट वि.वि.एम अप्लाइड र वि.एम.एस.का कक्षाहरू संचालन गर्दै आएको छ।

क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दावी गरे। उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसहरूमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजा सहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्