तिलोत्तमाका मेयर खाँणले आफै पोलमा चढेर काटे जथाभावी टांगिएका विद्युतीय तार


पालिका पत्र

५ श्रावण २०८०, शुक्रबार १३:५१ मा प्रकाशित


रुपन्देही, साउन ०५ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक किनारका विद्युत्‌का पोलमा जथाभावी टांगिएका तार व्यवस्थित बनाउन सुरु गरेको छ । नगरप्रमुख रामकृष्ण खाणले आफैले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाईएका तारलाई हटाएर उक्त कार्यको सुरुआत गरेका हुन्।

बुटवल र तिलोत्तमाको सिमाक्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको सुरुआत गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख खाणले पोलहरुमा जथाभावी टाँगिएका तारहरुले नगरलाई कुरुप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरुलाई व्यवस्थीत बनाउन सुरु गरिएको बताए।

‘एउटै पोलमा विद्युतको तारसँगै ईन्टरनेट र केबुलका दर्जनौं कम्पनीका तारहरु जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेका छन्, पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतिय उपकरणहरु सर्ट हुने जोखिम बढिरहेको छ,’ खाणले भने।

नगरका मुख्य चोक, सडक किनार र घर अगाडी नै कुरुप बनाउने गरी टाँगिएका तारहरुलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो। नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तारहरुको व्यवस्थापन हुन नसक्दा नगर नै कुरुप भईरहेको बताईन्।

‘हामीले पटक पटक अनावश्यक तारहरु हटाउन आग्रह गरेका थियौं, अहिले सबैसँग छलफल गरेर व्यवस्थीत गर्न थालिएको हो,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्