गुल्मीको छत्रकोट गाउँपालिका पोषण र स्वास्थमैत्री पालिका घोषणा


पालिका पत्र

६ श्रावण २०८०, शनिबार १६:५८ मा प्रकाशित

गुल्मी, साउन ०६ । गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार भव्य समारोहका बिच घोषणा गरिएको हो ।

छत्रकोटलाइ पोषणमैत्री स्वास्थायुक्त गाउँपालिका घोषणा सभाको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका हुन । उक्त अबसरमा छत्रकोट गाउँपालिकाको स्वास्थ्य अबस्था बारे वृतचित्र प्रदर्शन गरिएको थियो ।

सबै वडाहरु हुँदै सिङ्गो पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्न सफल भइएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए । मिक्ससाइमन अबार्ड २०१७ मा नेपालमै उत्कृष्ट अबार्ड प्राप्त पोख्रेलले छत्रकोटलाइ गर्व गर्न लायक स्वास्थ क्षेत्र बनाएको छिमेकी गुल्मीदराबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले बताए ।

पोखरेल साबिक गाबिस हुँदा धेरै पटक उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा पुरस्कृत भएका ब्यक्ति हुन् । उनले हाल यस पालिकाको २ नम्बर वडाको पल्लिकोट स्वास्थ चौकीलाई उत्कृष्ट सेवा प्रवाह गर्ने संस्थाका रुपमा माथी उठाएका थिए ।

नेपालमै मिक्ससाइमन अबार्ड २०१७ को अबार्ड हाता पार्न सफल पोखरेलले छत्रकोटको स्वास्थ्य क्षेत्रमा गर्व गर्न लायक काम गरेको गुल्मिदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पोखरेल बताए ।

समारोहमा स्थानिय उत्पादन पोषणयुक्त खाधपदार्थ प्रदर्शनी लोभै लाग्दो थियो । त्यहाँ स्वास्थ्यकर्मीहरु सास्कृत कलामा पनि पारङगत भएको पाइयो । छिनछिनको सन्देशमुलक गितमा नृत्य प्रस्तुत गरेर दिन बितेको पत्तै नहुने बनाएका थिए ।

घोषणा गर्दै छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष साबित्रा ज्ञवलि र प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर पुन, विभिन्न राजनैतिक दलका नेता संघ संस्थाका प्रमुखहरुले सम्बोधन गरेका थिए ।

छत्रकोट गाउँपालिकालाइ पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथी समन्वय प्रमुख खत्रीले निकै मेहनतका साथ छत्रकोटले स्वास्थ्यको क्षेत्रमा फड्को पारेको प्रती बधाइ दिदै भने – हामी बाटो भवन लगायतको पुर्वाधार बिकासलाइ मात्र बिकास ठान्ने प्रवृत्ति बाट माथी उठ्दै सामाजिक बिकासमा अलि बढि जोड दिनु पर्ने बेला आएको छ । शिक्षा, स्वास्थ्यमा जनताको सहज पहुच बिना अन्य बिकासले मात्र समृद्ध समाजको परिकल्पना नै गर्न सकिन्न ।

कार्यक्रममा गुल्मीदरबारका उपाध्यक्ष तारा थापा ढेगा, धुर्कोटका उपाध्यक्ष सीता गिरि, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला प्रहरी प्रमुख नविनकिशोर प्रधान, जिल्ला स्वास्थ्य प्रमुख पशुपति आचार्य लगायतको आतिथ्यता रहेको थियो । गुल्मीदरबार, धुर्कोट पछि छत्रकोट गाउँपालिका स्वास्थ्य र पोषण मैत्री घोषणा हुने तेस्रो पालिका हो । जिल्ला स्वास्थ्य प्रमुख आचार्यका अनुसार यस्तो घोषणा गर्ने गुल्मी मात्रै होइन नेपाल मै गुल्मीदरबार पहिलो , धुर्कोट दोस्रो र छत्रकोट तेस्रो हो ।

प्रतिक्रिया दिनुहोस्