मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै राजीनामा दिएका वडाध्यक्ष एक महिनापछि काममा फर्किए


पालिका पत्र

१८ श्रावण २०८०, बिहीबार १३:४७ मा प्रकाशित

दाङ, साउन १८ । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् ।

गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि पुनः काममा फर्किएका हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराएका हुन् ।

एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उनले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाएका थिए । राजीनामा पत्रमा उनले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गरेका थिए ।

मेयर चौधरीले भने वडाध्यक्ष शाहको राजीनामा स्वीकृत गरेका थिएनन् । मेयर चौधरीले उनलाई पटक पटक काममा फर्कन आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्