स्थानीय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तु समावेश गर्न पहल गरिने


पालिका पत्र

२७ श्रावण २०८०, शनिबार १८:५४ मा प्रकाशित


कपिलवस्तु, साउन २७ ।

स्थानीय तहमा निर्माण भई लागु हुने पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षाका विषयवस्तुहरू समेत समावेश गर्न लागि पहल गर्ने निर्णय गरिएको छ। कपिलवस्तुको तौलिहवामा सम्पन्न बुहत्तर यौनिकता जिल्ला स्तरीय प्राविधिक कार्य समितिको बैठकले सो निर्णय गरेको हो। यौनिकताका विषय बस्तुहरू अझै पनि विद्यालयमा प्रभावकारीरुपमा लागु नभएको, शिक्षकहरुले समेत अझै पढाउन आनाकानी गरेका बैठकमा समस्या औँल्याइएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले अहिले जिल्लाका १० वटै पालिकामा स्थानीय पाठ्यक्रमहरू तयार भइरहेका भन्दै सोही पाठ्यक्रमका बिषय बस्तुहरुमा यौनिकताका बिषय बस्तुहरुलाई समावेश गराउनु पर्ने बताए।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले यौनिकता विषयलाई पाठ्यक्रममा समावेश गरेर प्रभावकारी रुपामा लैजानु पर्ने बताए। यो विषय पठनपाठनमा अझै पनि शिक्षक बिद्यार्थीहरु खुल्न नसकेको उनको भनाइ थियो। एक विद्यालय एक नर्सको अवधारणा लागु गराउन जिल्ला समन्वय समिति मार्फत सहजीकरण गर्ने विद्यालयमा पठनपाठन गर्ने सबै शिक्षकलाई बुहत्तर यौनिकता विषयमा तालिम दिने निर्णय गरेको छ।

किशोर किशोरी मैत्री सूचना केन्द्र सबलीकरण तथा केन्द्रको संख्या बढाउने, स्थानीय तहमा कार्यरत नर्स र स्वास्थ्यर्मीलाई बृहत्तर यौनिकता शिक्षाका बिषयमा अभिमुखीकरण गराउने, प्राविधिक समितिको टीओर निर्माण गरी जिम्मेवारी दिने समेत निर्णय गरिएको छ।

बैठकमा यस अघि प्राविधिक समितिले २०७९ मंसिर २९ गते गरेको निर्णय, कार्यान्वयनका अवस्थाका बारेमा युएनएफपिएका जिल्ला संयोजक संजय शर्माले जानकारी गराएका थिए। बैठकमा सिसो नेपालका खुमानन्द घिमिरेले बहत्तर यौनिकता शिक्षाका बारे विस्तृत जानकारी गराएका थिए।

सो अवसरमा युएनएफपिएका लुम्बिनी प्रदेश संयोजक राम थापाले बहत्तर यौनिकता शिक्षामा कपिलवस्तु र लुम्बिनी प्रदेशमा भएका प्रगतिहरुका विषयमा जानकारी गराएका थिए। यस वर्ष बृहत्तर यौनिकता शिक्षामा राष्ट्रिय स्तरमा भएका गतिविधिहरू अभिराम रोय तथा कपिलवस्तुमा यस बर्षकालागि बृहत्तर यौनिकता शिक्षा सबन्धी कार्यक्रम खुमानन्द सुबेदीले जानकारी गराएका थिए।

जिल्लाका ३ पालिका १३ विद्यालयमा नुमनाकारुपमा बुहत्तर यौनिकता शिक्षा संचालन गरिएको छ। सो अवसरमा कपिलवस्तु नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवाली, शिवराज नगरपालिका शिक्षा शाखाका दिनेश कुमार चौधरी, सुद्धोदन गाउँपालिका शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्माले यौनिकता शिक्षाका आफ्नो पालिकमा भएको प्रगतिका विषयमा जानकारी गराएका थिए।

बैठक शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेको अध्यक्षता, चोप लाल बेल्बासेको संचालन र जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो।

प्रतिक्रिया दिनुहोस्