क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवाको संरक्षण कस्ले गर्ने ?


३० श्रावण २०८०, मंगलवार २१:१७ मा प्रकाशित

कपिलवस्तु, साउन ३० । क्रकुछन्द बुद्धको जन्मस्थलका रुपमा परिचित गोटिहवाको अस्तित्व नै संकटमा पर्दै गएको छ । ऐतिहासिक महत्व बोकेको गोटिहवास्थित अशोक स्तम्भ संरक्षणको अभावमा कमजोर र जीर्ण बन्दै गएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ मा अवस्थित महत्वपूर्ण पुरातात्विक स्थल अशोक स्तम्भको अधिकांश भाग बर्षाको समयमा पानीमा डुब्ने गरेको छ । संरक्षणको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले स्तम्भ संरक्षणमा बेवास्ता गर्दै आएको छ ।
आर्थिक र प्रशासनिक जिम्मेवारी पाएको कोष कार्यालय यहाँबाट २८ किमि पूर्वको दुरीमा छ, तर हेरचार र संरक्षणमा ध्यान दिइएको छैन् । पछिल्लो एकसातादेखि परेको निरन्तरको बर्षाले स्तम्भ डुबाएको हो ।

डुब्दा स्तम्भले पानी सोस्ने गरेको छ । प्रत्येक वर्ष यसरी डुब्ने हुँदा खिइने जोखिम बढेको सरोकारवाला बताउँछन् । यसले टुटफुट भई क्षति हुने सम्भावना बढ्छ । तर संरक्षणमा ध्यान नदिँदा कमजोर बन्दै गएको छ ।

स्तम्भ एक दशकबाटै डुब्दै आएपनि सरोकारवाला निकायको खासै ध्यान जान सकेको छैन । स्तम्भ करिब १० फिट ८ ईन्च लामो छ । सामान्य बर्षा हुँदा पनि स्तम्भ पानीमा डुब्ने गरको गोटिहवाका स्थानीय बताउँछन् । बलौटे ढुंगाले बनेको स्तम्भ पानीमा डुब्दा सिपेज भई साल्ट एक्सन हुँदा क्षयीकरण हुने पुरातत्वविद्हरु बताउँछन् ।

बौद्ध धर्मावलम्बीका लागि गोटिहवा पवित्र स्थल हो । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटनको क्रममा यहाँ आएका थिए । गोटिहवा भगवान् गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो ।

बौद्धग्रन्थमा नेपाल र भारतमा ४२ वटा अशोक स्तम्भ रहेका उल्लेख छ । त्यसमध्ये २२ वटा मात्र पत्ता लागेका छन् । १९ भारत र ३ वटा नेपालमा छन् । नेपालमा रहेका ३ अशोक स्तम्भमध्ये गोटिहवाको एक हो । यहाँ जस्तै लुम्बिनी र निग्लिहवामा अशोक स्तम्भ छन् । राजा शुद्धोधनको राजप्रासाद तथा बुद्धसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थल प्रमाणिकताका लागि स्तम्भ निकै महत्वपूर्ण मानिन्छ ।

लुम्बिनी बिकास कोषले पुरातात्विक क्षेत्रको बिकास, संरक्षणको जिम्मा पाएको भएपनि कपिलवस्तुलाई गर्ने ब्यबहार उपयुक्त र प्रभावकारी नभएको जिल्लावासीको गुनासो छ । ऐतिहासिक महत्व बोकेका देशकै सबैभन्दा धेरै पुरातात्विक क्षेत्रको प्रचुरता र सम्पन्नताले भरिपुर्ण कपिलवस्तुका पुरातात्विक क्षेत्रको जर्गेना र संरक्षण अब छुट्टै कपिलवस्तु बिकास समिती स्थापना गर्नुपर्ने नागरिक अगुवा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्