सेवाग्राहीलाई पालिका धाउने बाध्यता अन्त्य गर्न कञ्चनमा गाउँ गाउँमै घुम्ती शिविर


पालिका पत्र

५ भाद्र २०८०, मंगलवार ०७:४१ मा प्रकाशित


कञ्चन, भदौ ५ ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पुर्‍याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको शुभारम्भ गदै उपाध्यक्ष मौसमी थापा मगरले घुम्ती शिविरबाट सेवाग्राहीले अव वडा वडाबाट पाउने सेवाका बिषयमा जानकारी पाउनुका साथै सेवाका बिषयमा जानकारी लिन समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ नागरिक परिचय वितरण गर्ने व्यवस्था गरिएको छ । कञ्चनका ५ वटा वडामा हरेक वडामा दुई दिनको दरले घुम्ती शिबिर संचालन गरिएको हो ।

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले घुम्ती शिबीरको मूख्य उद्देश्य भनेको जनतालाई वडा वडाबाटै सहजरुपमा सेवा दिने रहेको बताउँदै शिविरबाट सेवाग्राहीलाई पालिकामै आउनुपर्ने बाध्यता अन्त्य हुने बताउनु भयो ।
घुम्ती शिबिरमा सेवा लिन आएकी सेवाग्राही कञ्चनको थकाली चोकमा रहेको मिलिजुली आमा समूहकी सचिव कमला रानाले घुम्ति शिविर आयोजनाबाट आफूहरुलाई धेरै सुविधा पुगेको बताउनु भयो । उहाँले घुम्ती शिविरको आयोजनाबाट समूह दर्ता गर्न बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको बताउँदै यसबाट आफूजस्तै धेरै सेवाग्राहीलाई सुविधा पुगेको बताउनु भयो ।

कञ्चन गाउँपालिकाले व्यवसाय कर नतिरेका व्यवसायीलाई असोज मसान्तभित्र कर तिरेमा दुई बर्षसम्मको व्यवसाय कर निशुल्क गर्ने व्यवस्था गरेको छ । तर, घुम्ती शिवीरको बेवास्ता गरी कर तिर्न अटेर गरेमा त्यस्ता व्यवसायीलाई जरिवाना गर्ने जनाएको छ । पालिकामा गएर कर तिर्नुपर्ने, संघ संस्था नबिकरण गर्ने झञ्झटबाट सेवाग्राहीलाई सहज गर्न वडा तहमै नबिकरणको व्यवस्था गरिएको हो । भदौ ३ देखि सुरु भएको घुम्ती शिविर भदौ १३ गतेसम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्