रूकुम पश्चिममा उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटे पछि….


पालिका पत्र

१० भाद्र २०८०, आईतवार ०६:५२ मा प्रकाशित


रूकुम, भदौ १० ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपमेयरले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका छन्।

उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार शिक्षा शाखा अधिकृत वलीले उपमेयर पुनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

शनिबार बिहान ११ बजेतिर कार्यालयकै काम गरिरहेको समयमा वलीलाई उपमेयर पुनले हातपात गरेको मुसिकोटको–१ को त्रिभुवन जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताए।

‘उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपूर्तिको लागि प्रश्न पत्र बनाउने लगायत आवश्यक काम भइरहेको थियो,’ उनले भने, ‘म काम विशेषले मेयरको कार्यकक्षमा प्रवेश गर्दा हल्लाखल्ला भएपछि गएर हेर्दा त्यहाँ वातावरण अलग भइसकेको देखेको थिएँ।’

आफू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा पुग्दा ल्यापटप भुइँमा खसेको, कागजपत्रहरू यत्रतत्र फालिएको र शिक्षा शाखा प्रमुखको आँखाभरि आँसु देखेको उनले बताए। उपमेयर पुनले भने आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले गलत प्रचारबाजी गरेको बताएका थिए।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित पुनले आफूलाई थाहा नै नदिएर मेयरको निर्देशनमा आफ्ना निकटका मानिसहरू नियुक्त गर्ने गरेको पाइएको हुँदा त्यो परीक्षा रोकिनु पर्छ भन्ने मनसायका साथ आफू गएको र त्यसलाई अनावश्यक बढाइ चढाइ गरी राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको उपमेयर पुनले बताए।

‘हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक भएको हुँदा म काठमाडौंबाट हिजो राति मात्रै घर फर्किएको थिएँ,’ उनले भने, ‘त्यहाँ म नहुँदा मेयर र शिक्षा शाखाको मिलेमतोमा मनपरी भएको भन्ने सुनेपछि त्यो परीक्षा रोकिनु पर्छ मात्रै भनेको हुँ मैले कसैमाथि हातपात गरेको होइन।’

जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराईले पनि उपमेयर नगरपालिकाभित्र प्रवेश गरेको दृष्य सिसिटिभीमा कैद भए पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सिसिटिभी जडान नगरिएको हुँदा त्यहाँ के भएको भन्ने भिडिओ फेला पार्न नसकिएको बताए। शिक्षा शाखा प्रमुख वलीको मोबाइल स्वीच अफ रहेको हुँदा उनीसँग प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन।

एक जना प्रत्यक्षदर्शीले पनि नाम उल्लेख नगर्ने शर्तमा परीक्षाको पूर्व तयारी गरिरहेका शिक्षा शाखा प्रमुख वलीमाथि उपमेयर पुनले वली र प्रधानाध्यापकको हातबाट कागजात खोसेर वलीमाथि दुई झापड हानेको जानकारी दिए।

‘उहाँ एकदमै रिसाएर आउनु भएको थियो र भित्र पसेर कागजात खोस्दै मनपरी बोल्नु भयो,’ उनले भने, ‘त्यसपछि सबै तैंले गर्दा भइरहेको छ भन्दै शिक्षा शाखा प्रमुखलाई दुई झापड हान्नु भएको हो।’ घटनापछि परीक्षा हुन नसकी स्थगित हुन पुगेको उनले जानकारी दिए।

‘परीक्षा निष्पक्ष र मर्यादित गराउन उहाँहरू खटिनु भएको थियो,’ उनले भने, ‘बेकारमा उपमेयरले बुझ्दै नबुझी कानुन हातमा लिने काम गर्नु भएको साँचो हो।’

विद्यालयको लागि उच्च माध्यमिक तहको कार्यालय संचालन तथा लेखा विषयमा शिक्षक पदपूर्तिको लागि लिखित तथा मौखिक परीक्षा घटनापछि हुन नसकेको उनले बताए।

न्याय समितिका संयोजक समेत रहेका उपमेयर पुनले कानुन हातमा लिने गलत काम गरेको भन्दै विभिन्न पेशागत संघ संगठनहरूले घटनाको निन्दा गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देवबहादुर वली र सचिव कमल केसी र नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष देवबहादुर खड्काले विज्ञप्तिमार्फत् कानुन हातमा लिने उपमेयर पुनलाई कारबाहीको माग गरेका छन्। सेतोपाटी बाट

प्रतिक्रिया दिनुहोस्