लुम्बिनी केबलकारको मर्निङ अफर आज सकिंदै, तोड्ला त एकै दिन ५ हजार २० जना चढेको रेकर्ड ?


२७ भाद्र २०८०, बुधबार ०७:५१ मा प्रकाशित

पालिकापत्र
बुटवल, २७ भदौ । लुम्बिनी केबलकार लिमिटेडले सञ्चालन गरेको दुइृ महिने मर्निङ अफर आज सकिंदै छ । साधारण टिकट दर ७५० रुपैयां रहेकोमा केबलकारले मर्निङ अफरमा ३७५ रुपैयां कायम गरेको छ । गत साउनको पहिलो बुधबारदेखि कम्पनीले हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट दिएर यो अफर ल्याएको थियो । मर्निङ अफरको टिक १२ बजेभित्र खरिद गरेमा उक्त दिन आफू अनुकुल समयमा सांझसम्म केबलकार यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

मर्निङ अफर अन्तर्गत भदौको तेस्रो बुधबार सर्वाधिक धेरै ५ हजार २० जनाले केबलकार यात्रा गरेका थिए । दुई महिनाका लागि निर्धारित अन्तिम अफर भएकाले मौसमले साथ दिएमा आज अघिल्लो रेकर्ड ब्रेक गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
साउन ३ गतेबाट शुरु भएको अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने भएपछि आन्तरिक र भारतीय पर्यटकको समेत आगमन बढेको कम्पनीले जनाएको छ ।

पहिलो बुधबार ९७८ जना र त्यसयता क्रमशः ३३०७ जना,३४७६ जना, २१५९ जना र साउनको अन्तिम बुधबार २४७० जना तथा भदौको पहिलो बुधबार ११७० जना, दोस्रो बुधबार १५६१ जना र तेस्रो बुधबार ५ हजार २० जनाले केबलकार चढेका थिए ।

मर्निङ अफरको टिकट दर सस्तो हुंदा परिवारका सबै सदस्यलाई केबलकार यात्रा गराउन सक्ने भएकाले यो अफरले आम सर्वसाधारणलाई आकर्षित गरेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता भएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ ।

टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्