कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालले सार्वजनिक गरे बार्षिक कार्यक्रम


१० आश्विन २०८०, बुधबार १४:२९ मा प्रकाशित

कपिलबस्तु, असोज १० गते । कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुले संयुक्त रुपमा सदरमुकाम तौलिहवामा चालु आर्थिक वर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षका लागि कृषि ज्ञान केन्द्रमा बिभिन्न ६ शीर्षकमा ६ करोड ३६ लाख ४० हजार मात्र बजेट बिनियोजन भएको ज्ञान केन्द्र प्रमुख भास्कर पौडेलले बताए । गत आर्थिक बर्ष ८ करोड १६ लाख २६ हजार बजेट मध्ये ५९ दशमलव १२ प्रतिशत मात्र खर्च भएको उनले बताए ।

ज्ञान केन्द्रले कृषि उत्पादन खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपंक्षी श्रोत तथा प्रविधि सेवाटेवा बिस्तार कार्यक्रम, कृषि ज्ञान केन्द्रहरु, प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना संघ सशर्त अनुदान र कृषि बिभाग संघ सशर्त अनुदानका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

कृषि उत्पादन खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्र्तगत केन्द्रले १६ वटा कार्यक्रम सञ्चालन गर्ने पौडेल बताउँछन् । यस अन्र्तगत कृषि प्रविधि प्रदर्शन कार्यक्रम, फलफुल बगैंचा सुदृढीकरण कार्यक्रम, माटो व्यवस्थापन कार्यक्रम, महिला लक्षित उन्नत किट वितरण कार्यक्रम, बाली कटानी कार्यक्रम, हिउँदे/बर्षे फलफुल विरुवा वितरण, वीज वृद्धि कार्यक्रम, सिंचाई सहित कृषि विकास कार्यक्रम, पिविएस वीउ आलु वितरण, टिपिएस वीउ आलु वितरण रहेका छन् ।

यस्तै, ठुला सिंचाई आयोजनाहरुको कमाण्ड क्षेत्रमा बाली सघनता वृद्धि कार्यक्रम (बाणगंगा सिंचाई आयोजना), बाली वस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम (मसिनो धान र आँप), मूल्य अभिवृद्धिका लागि साना कृषि उद्योग सहयोग कार्यक्रम, लक्षित समुदाय विशेष आय आर्जन कार्यक्रम, रैथाने बालीको प्रवद्र्धन तथा बजारीकरण कार्यक्रम र अनुगमन मूल्यांकन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च (अनुगमन, मुल्यांकन र भ्रमण)का कार्यक्रम तय गरिएका छन् ।

उक्त १६ वटा कार्यक्रमहरु सञ्चालनका लागि केन्द्रले चालु आवका लागि दुई करोड ७३ लाख ८९ हजार रुपैया बिनियोजन गरेको छ । यसैगरि स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि २३ लाख ७५ हजार रुपैया बिनियोजन गरिएको छ । कृषि तथा पशुपंक्षी श्रोत तथा प्रविधि सेवाटेवा बिस्तार कार्यक्रमका लागि ४४ लाख ५७ हजार रुपैया बिनियोजन गरेको ज्ञान केन्द्रले बताएको छ ।

यता, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख बिष्णु प्रसाद खनालले चालु आर्थिक बर्षमा बिभिन्न ७ शीर्षकमा ६ करोड ११ लाख ३७ हजार बजेट बिनियोजन गरिएको बताए । गत आर्थिक बर्ष बार्षिक बजेट ५ करोड ७५ लाख ६८ हजार ४३४ मध्ये ३ करोड ७२ लाख ५० हजार ३६४ (६४ दशमलव ७१ प्रतिशत) रकम खर्च भएको उनले जनाएका छन् ।

चालु आर्थिक वर्षमा संचालन हुने कार्यक्रमहरुमा कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, स्मार्ट गाउँ कार्यक्रम, मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रम, साधारण कार्यक्रम, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवाटेवा विस्तार कार्यक्रम, पशुपन्छी तथा पशु स्वास्थ्य नियमन कार्यक्रम र संघ सशर्त कार्यक्रम रहेका छन् ।

कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि एक करोड ४७ लाख ४४ हजार रुपैया विनियोजन गरिएको छ । यसअन्र्तगत प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, पोषण सुधारका लागि ग्रामीण कुखुरा पालन कार्यक्रम, बाली वस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम (माछा र भैंसीपालन), मूल्य अभिवृद्धिका लागि साना कृषि उद्योग सहयोग कार्यक्रम, लक्षित समुदाय विशेष आय आर्जन कार्यक्रम र पशुपन्छी तथा मत्स्य प्रविधि प्रदर्शन कार्यक्रम संचालित रहेका छन् ।

यसैगरि स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि २३ लाख ५० हजार रुपैया बिनियोजन गरिएको छ । मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रमका लागि ८६ लाख ८४ हजार रुपैया बिनियोजन गरेको केन्द्रले बताएको छ । जसअन्र्तगत नयाँ पोखरी निर्माण, प्राकृतिक जलासय मर्मत संभार, आपतकालिन सेवा संचालन, मत्स्य शिविर सेवा संचालन, मत्स्य व्यवसायका लागि यान्त्रिकरणमा सहयोग जस्ता कार्यक्रम संचालन हुने खनाल बताउँछन् ।

साधारण कार्यक्रमका लागि दुई करोड २३ लाख ४२ हजार, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवाटेवा विस्तार कार्यक्रमका लािग ९० लाख ५० हजार, पशुपन्छी तथा पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि ३३ लाख २७ हजार र संघ सशर्त कार्यक्रमका लागि ५ लाख ९० हजार बिनियोजन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुले जनाएको छ ।

सो अवसरमा सहभागी वक्ताहरुले कृषिमा आधारित कृषकहरुको संख्या अधिक रहे पनि गत बर्षको तुलनामा बजेट कम रहेको भन्दै आपत्ति प्रकट गरे । कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखले समग्रमा बार्षिक कार्य प्रगति सन्तोजनक देखिएपनि अझै प्रभाबकारी बनाउन बार्षिक कार्यक्रम तयारी गर्दा सरोकारवालासंग छलफल गरेर बिनियोजन गरेको बजेट र कार्यक्रम प्रभावकारी बन्ने बताएका छन् । उनिहरुले अबदेखि सम्बन्धित पालिकाहरुमा गएर नै सरोकारवालासंग छलफल गरेर कृषिका कार्यक्रम बनाउन सुझाव समेत दिए ।

सो अवसरमा जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मीले कृषि क्षेत्रमा बजेट बढाउनुको साटो घटाइएकोमा चिन्ता प्रकट गरे । उनले जिल्लाको कृषि क्षेत्रको विकासका लागि सिचाईको सुबिधा बढाउनु पर्ने र वास्तविक कृषकहरुलाई अनुदान दिनुपर्ने बताए । कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले सरकारले गरेको लगानी अनुसार प्रतिफल नदेखिने प्रवृत्तिले कृषि क्षेत्रलाई गाँजेको प्रतिक्रिया दिए । उनले पारदर्शी रुपमा काम अघि बढाइए मात्रै प्रतिफल पनि प्रभावकारी तवरले मिल्ने बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रीता चौधरीले तीनै तहको सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताईन । उनले सिचाई, मलखादको सरकारले समयमै प्रबन्ध गर्नुपर्ने तर्क गरिन् । जिल्लाको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ मध्ये ६ लाख १८ हजार ६५ कृषिमा आश्रित तथा ६५ दशमलव ८६ प्रतिशत परिवार कृषक परिवार संख्या रहेका छन् । दुधमा आत्मनिर्भर रहे पनि माछामासु र अन्डामा भने परनिर्भर रहेको छ ।

जिल्लामा कुल ८३ हजार खेतीयोग्य जमिन मध्ये ८१ हजार ५७६ हेक्टरमा खेती गरिएको छ । गत बर्ष गहुको उत्पादनमा कमी आए पनि धान, आलु, तोरी, च्याउ, तरकारीको उत्पादनमा भने बृद्धि भएको थियो । कुल खेती योग्य जमिन मध्ये ५५ प्रतिशत मात्र सिंचाई सुबिधा रहेको छ ।

सार्वजनिकीकरण कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख पौडेलको अध्यक्षता, महेन्द्र ओझाको संचालनमा भएको कार्यक्रममा प्रजिअ शंकरहरि आचार्य, जिल्ला समन्वय प्रमुख भुमीराम पोख्रेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि अधिकृत सहसराम चौधरी, जिल्लाका विभिन्न पालिकाका कृषि तथा पशु सेवा शाखाका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्