शिक्षकको कुटाइबाट कक्षा ५ मा पढ्ने एक छात्रा घाइते


पालिका पत्र

१० आश्विन २०८०, बुधबार १९:३८ मा प्रकाशित

कपिलवस्तु, असोज १० गते । कपिलवस्तु नगरपालिका स्थित सनसाइन आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा–५ मा पढ्ने पिहु बर्मालाई होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक हानेर घाइते बनाएको खुलेको छ ।

कक्षा–५ कम्प्युटर विषयका शिक्षक ऋषि पाण्डेले होमवर्क डायरीमा हस्ताक्षर नगरेको भन्दै उनिमाथि निर्घात कुटेको परिवारको आरोप छ । बालिकाको देव्रे पाखुरा र हातभरी निलडाम छन् ।

उता, विद्यालयका प्रिन्सिपल धर्मेन्द्र कुमार चौधरीले विद्यार्थीमाथि कुटपिट भएको घटना सत्य भएको प्रतिक्रिया दिए । उनले घटनाका विषयमा बुझेर शिक्षक पाण्डेलाई बिद्यार्थीसमक्ष माफी माग्न लगाइएको समेत बताए ।

पिहुका बुवा सचितानन्द बर्माले आफ्नो छोरीलाई कुटपिट शिक्षकउपर कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन् । उनले यस घटनालाई लिएर पुलिस रिर्पोट गर्ने समेत बताए ।

पिहु कक्षाकै प्रथम बिद्यार्थी रहेको बिद्यालय प्रशासनले जनाएको छ । कुटपिट गर्ने शिक्षक कम्प्युटर बिषय अध्यापन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्