दोस्रो मोतिपुर फूलबारी फूटबल कपमा आयोजकलाई हराउँदै वेलफेयरको बिजयी सुरुवात


पालिका पत्र

२१ आश्विन २०८०, आईतवार ०७:४१ मा प्रकाशित

कपिलवस्तु, २१ असोज । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ७ मा आज शनिबार देखि दोस्रो मोतिपुर फूलबारी कप फूटबल २०८० सुरु भएको छ । मोतिपुर प्रगतिशील युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।


प्रतियोगिताको उद्घाटन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले खेल र खेलाडीले राष्ट्र चिनाउने काम गरिरहेकाले यहाँको यो प्रतियोगिताले पनि केही नयाँ सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले खेललाई अनुशासित र सम्यम भएर खेलाडीहरुले प्रर्दशन गर्ने विश्वास व्यक्त गर्दै उहाँले यहाँका युवा खेलाडीहरूको प्रतिभा राष्ट्रिय स्तरमा पुग्ने र त्यसका लागि अनुशासित खेल आवश्यक रहेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले खेल्ले नागरिकलाई मनोरञ्जन सँगै तन्दुरुस्ती पनि प्रदान गर्ने भएकाले खेललाई सम्यमताका साथ प्रयोग गर्नुपर्ने बताउनुभयो । यहाँका खेलाडीको स्तर वृद्धि र क्षमता विकासमा सबैको सहयोग आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष धुव्र बेल्वासे, फूलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी लगायतको आतिथ्यता रहेको थियो ।
मोतिपुर प्रगतीशिल युवा क्लबका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चारकर्मी राजेन्द्र खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबिच दोस्रो फूलबारी कप फुटबलको उद्घाटन खेलामा बाणगङ्गा वेलफेयर एण्ड स्पोर्ट क्लब बिजयी भएको छ । आयोजक मोतिपुर प्रगतिशील युवा क्लबसँगको खेलमा निर्धारित ९० मिनेटमा १–१ को बराबरी पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा वेलफेयर मोतिपुर विरुद्ध ४–२ को गोलसहित बिजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्