कपिलवस्तुका उत्कृष्ट १९ जना कृषक सम्मानित

को-को भए सम्मानित ?


१ कार्तिक २०८०, बुधबार १३:३० मा प्रकाशित

कपिलवस्तु, कार्तिक १ । बिश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र कपिलवस्तुले जिल्लाका १९ जना कृषकलाई सम्मान गरेको छ । ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ मंगलवार आयोजित ४३ औं बिश्व खाद्य दिवसको अवसरमा केन्द्रले कृषकहरुलाई सम्मान गरेको हो ।

जिल्लामा खाद्यान्न उत्पादनमा विशेष योगदान पुर्याए वापत बिभिन्न विधामा कृषकहरु सम्मानित भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलले जानकारी दिए । सम्मानित कृषकहरुलाई नगद दुईहजार र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

दिवसको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा यसअघि सञ्चालन गरिएको अन्तर मावि स्तरीय निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा प्रथम रत्नराज्य लक्ष्मी मावि तौलिहवाका सुरेन्द्र कोहार, द्धितीय जनज्योती माबि बनगाईका दिया गिरी, तृतीय भृकुटी मावि बुड्ढीका सारजहाँ पठान र सान्तवना तौलेश्वर नाथ संस्कृत मावि तौलिहवाका सुन्दर कोहार भएका थिए । उनीहरुलाई क्रमशः तीन हजार, दुईहजार २ सय र १५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मीले आत्मनिर्भर सहितको कृषि पेशामा लाग्न जिल्लाका किसानहरुलाई आग्रह गरे । निर्वाहमुखी खेती प्रणालीलाई छाडेर व्यवसायिक तर्फ उन्मुख हुन उनले सुझाव दिए ।

कृषि पेशालाई सम्मानित पेशाका रुपमा बिकास गर्दै कृषि उत्पादन बढाउन सबैको हातेमालो गर्नुपर्ने कार्यालय प्रमुख भास्कर पौडेलले बताए । किसानहरु कृृषि कर्म प्रति प्रतिबद्ध नभए भोलीका दिनमा खान नपाउने अवस्था आउन सक्ने तर्फ संकेत गर्दै उनले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

जिल्लामा तरकारी बालीमा महत्वपुर्ण योगदान पुर्याउने ९ जना, धान बाली तर्फ एकजना, च्याउ खेतीतर्फ तीनजना, र कालानमक धान लगायतका बिधा तर्र्फ किसानलाई सम्मान गरेको जनाइएको छ ।

तरकारी बालीतर्फ बुद्धभूमि नगरपालिका १० का कमलावती हरिजन, सत्यभामा केवट, शिवराज नगरपालिका १ का शर्मिला लामिछाने, यशोधरा ३ का शान्ती बरई, मायादेवी १ का खदेरु चाइ, मायादेवी ८ का रामकृत यादव, बाणगंगा १ का पिताम्बर पोख्रेल, बाणगंगा ८ का बुद्धिराज न्यौपाने, बाणगंगा १० का सत्यनारायण चौधरी रहेका छन् ।

यस्तै, धानबाली तर्फ शिवराज नगरपालिका ७ का महाबीर चौधरी, कालानमक धानतर्फ यशोधरा ५ का अब्दुर मोजिद मुसलमान, मौरीपालन तर्फ बाणगंगा नगरपालिका ८ का नन्दराम अर्याल, आँपतर्फ मायादेवी ८ का बद्री प्रसाद चौधरी, मकैखेती तर्फ बुद्धभूमि ३ का यमलाल पौडेल सम्मानित भएका छन् । आलुको बीउ तर्फ कपिलवस्तु नगरपालिका १० का रामबृक्ष खरबिन्द, च्याउ खेती तर्फ शिवराज नगरपालिका २ का भविश्वर अर्याल, बुद्धभूमि २ का गिता पोख्रेल, अनुप मरासिनी लगायत रहेका छन् ।

केन्द्रका प्रमुख भास्कर पौडेलको अध्यक्षता, जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मीको प्रमुख अतिथ्यता रहेको कार्यक्रम जिल्ला समन्वय अधिकारी भूमिराम पोख्रेल, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख परवेज आलम, जिल्लाका कृषकहरु लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन कृषि अर्थ बिज्ञ महेन्द्र कुमार ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्