राप्ती गाउँपालिकाले सुरु गर्‍यो प्लास्टिकका माला जफत अभियान


पालिका पत्र

२५ कार्तिक २०८०, शनिबार ०८:४९ मा प्रकाशित

देउखुरी । नेपालीहरुको संस्कार, संस्कृति भनेको तिहारमा मखमलि र सयपत्रीका फुलको माला लगाउने, फुलका माला र तोरणले घर अनि गेट सजाउने हो तर आज हाम्रो घर आगनमा फुलेका फुलहरु यत्तिकै खेर गइरहेको छ । हामी देखासिखि गर्दै अन्य देशहरुबाट भित्रीएको प्लास्टिक जन्य फुलमाला प्रयोग गर्ने क्रम बढ्दो छ । यसले एकातिर स्थानीय उत्पादनको प्रयोग नहुदा पुष्प खेती गर्ने किसानहरु मारमा छन भने प्लास्टिक जन्य बस्तुको प्रयोगले बाताबरण समेत प्रदुषण गर्ने हुँदा मानव स्वास्थ्यमा समेत ठुलो असर परिरहेको छ ।

नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली (तिहार) लाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूल खेती पालिकाले प्रवद्र्धन गर्दै राप्ती गाउँपालिकाले तिहारको समयमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह सहित किसानको नाम र नम्बर सार्वजनिक गरिसकेको छ ।

राप्ती गाउँपालिकाले कार्यपालिकाको निर्णय गर्दै २०७९ असार १९ गते नै आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य माला, रबर जन्य, खादा, माला, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता वस्तुको सट्टामा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने खाले वस्तु प्रयोग गर्न आग्रह गरेको थियो ।

२०७९ असार १९ गतेको निर्णयको स्मरण गराउँदै राप्ती गाउँपालिकाले गत कार्तिक १४ गते मंगलबार तिहारको समयमा प्राकृतिक रूपमा उपलब्ध हुने फूलमाला प्रयोग गर्न विज्ञप्ती प्रकाशन गर्दै अपिल गरेको थियो ।

पालिकाको अनुरोधलाई अवज्ञा गर्दै बजारमा खुल्लारुपमा प्लास्टिकका माला देखिन थालेपछि राप्ती गाउँपालिकाले तिहारको बेला प्रयोग हुने प्लास्टिकका माला जफत अभियान संचालन गरेको छ । पालिका उपाध्यक्ष कमला पति चौधरीको नेतृत्वको अनुगमन टोलिले राप्ती गाउँपालिकाका विभिन्न बजारबाट प्लास्टिकका माला जफत गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिएकी छिन ।

पालिकाले बजारबाट ४० हजार बराबरको ३ सय २७ थान प्लास्टिकका माला जफत गरेको छ । जफत गरिएको प्लास्टिकका माला गाउँपालिकाको कार्यालयमा सुरक्षीत राख्ने र तिहारपछी सरसफाइ केन्द्रमा पठाउने उपाध्यक्ष चौधरीले बताइन् ।

पालिकाले प्लास्टिक जन्य फुलमालामा कडाइ गर्दै स्थानिय रुपमा उत्पाउन हुदै आएका फुलको प्रवद्धन गर्दा किसान हर्षित भएका छन् । २ वर्ष देखि पुष्प खेती गर्दै आएका राप्ती गाउँपालिका वडा नम्बर ८ का किसान दिनेश पोख्रेलले गाउँपालिकाले सुरु गरेको प्लास्टिक माला निषेध अभियानले आफु जस्तो किसानलाई धेरै फाइदा पुगेको बताए ।

गत वर्ष खासै फाइदा नभएपनि यो वर्ष ५० किलो भन्दा माथिको अडर आएको पोख्रेलले बताए । उनले प्रतिकिलो ४ सयका दरले बिक्री वितारण गर्दै आएका छन् ।

प्लास्टिक जन्य बस्तुको प्रयोगले बातावरण समेत प्रदुषण हुने र मानव स्वास्थ्यमा समेत ठुलो असर परिरहेको हुदा प्लास्टिक जन्य बस्तुको विक्रि वितरणमा रोक लगाएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । ‘भगवानलाई समेत हामी प्राकृतिक फुल चढाउछौ, फुल भनेको प्रसन्नता प्रदान गर्ने वस्तु हो,’ अध्यक्ष विष्टले भने ‘त्यसैले प्लास्टिकको माला लगाएर मान्छेको मन कसरी प्रसन्न हुन सक्छ ?’

प्रतिक्रिया दिनुहोस्