फूल खेतीमा रमाउँदै कपिलवस्तुका किसान (फोटो फिचर)

प्रति मालाको ३ सय, किलोको ५ सय


पालिका पत्र

२७ कार्तिक २०८०, सोमबार १४:१४ मा प्रकाशित

कार्तिक २७ । बारीभरि ढकमक्क फूल फुलेका छन् , भित्रिसकेको तिहारका लागि फुलेको फूल टिप्न भ्याइनभ्याइ भएको छ । फुलेका फूललाई कसैले टिप्ने र कसैले माला उन्ने काममा व्यस्त देखिन्छन् ।

वाणगंगा नगरपालिका–२, लखनपारामा रहेको लुम्बिनी बहुउद्देश्यीय एग्रिकल्चर प्रालिले फूल र माला बेचिरहेको छ । प्रालिले करिब १ बिगाहा जमिनमा फूलखेती गरेको छ । एक सातादेखि ५ जना फूल टिप्न र माला बनाउनमै व्यस्त छन् ।

दैनिक ६ सयभन्दा बढी माला तयार भइरहेको सञ्चालक उपेन्द्र शाही ठकुरी बताउँछन् । दुई साताअघि नै तयार एक हजार माला बनाएर जितपुरस्थित रहेको कोल्ड स्टोरमा राखिएको उनले बताए ।

अहिले जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकतामा जिल्लाभित्रलाई दिएको उनले बताए। माग धेरै आएको हुँदा माला बनाउने काम पनि सुरु गरिएको उनले जानकारी दिए । स्थानीय महिलालाई फूलका माला उन्न उनले रोजगारी समेत दिएका छन् ।

अर्का सञ्चालक प्रेमनारायण पाण्डेले मालाको माग अहिले स्थानीय बजारसँगै सालझण्डी, मुर्गिया र बुटवलबाट समेत आइरहेको छ । यद्यपि, भारतीय फूलको मालाले स्वदेशी उत्पादनलाई विस्थापित गरेको छ । बाहिरी देशबाट आउने फूलमा प्रतिबन्ध गर्ने हो भने मात्रै स्वदेशी उत्पादनले कमाइ गर्छ । बजारीकरणको व्यवस्था, सहुलियत कृषि बीमा र भारतबाट भित्रिने फूल र प्लास्टिकको फूललाई सरकारले प्रतिबन्ध गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो भने कृषिमा भविष्य राम्रो भएको पाण्डेले बताए ।

उनीहरुले फूल किलोको ५ सय र माला थोकमा प्रतिगोटा ३ सयमा बिक्री गरिरहेका छन् । यस्तै, बाणगंगाका नगरपालिका ३ भक्तौलीका युवा नारायण अर्यालको बारीमा पनि फूल ढकमक्क फुलेका छन् । फर्केका ५५५ जातको सयपत्री फुल अर्यालले दीपावलीमा बिक्री गर्ने उद्देश्यले लगाएका हुन् ।

अर्यालले यस वर्ष देखी धान फलाउने खेतमा फूल खेती सुरु गरेका छन् । अघिल्लो तिहारमा फूलको अभाव भए पछि उनले ७ कट्ठा क्षेत्रफलमा ५५५ जातको सयपत्री फुलका १७ सय बेर्ना लगाएका थिए । प्रति बेर्ना १८ रुपैयाँका दरले खरिद भएका बोटमा फूल फुलेर अहिले पहेँलपुर छन् । अर्यालले डेढ लाख रुपैयाँ लगानी गरी फूल लगाएका थिए ।

सयपत्री फूल सधैँ भारतबाट आयात हुने भएको ले आयातलाई निरुत्साहित गर्न पहिलो पटक फूल खेती सुरु गरेको बताए । फूल खरिद गर्न थोक र फुटकर बिक्रेताले सम्पर्क गर्ने गरेको अर्यालले बताए ।

पछिल्लो समय जिल्लामा फूल खेती गर्ने क्रम भने बढ्दो छ । उत्पादन भएको फूलको विक्रीका लागि विभिन्न होलसेल व्यवसायीहरूले अहिले पनि बुकीङ्गको लागि माग गर्ने गरेका छन् ।

जिल्लाका बाणगंगा नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिकामा सयपत्री फूलको खेती तर्फ आकर्षण देखिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल बताउँछन् ।

यस वर्ष करिब १० हेक्टर क्षेत्रफलमा फूल लगाइएको छ । जिल्लाको उत्पादनले मात्र माग थेग्न सक्ने अवस्था नभएको पौडेलले बताए ।

हेर्नुहोस् तस्बिरमा स्वदेशी फूलहरु :

प्रतिक्रिया दिनुहोस्