‘१२ औँ कपिलवस्तु डान्स आइडल’को अडिसन आजबाट हुने


पालिका पत्र

५ मंसिर २०८०, मंगलवार ०७:३९ मा प्रकाशित


जितपुर, मंसिर ०५ ।
१४ औं कपिलवस्तु महोत्सवमा आयोजना हुने ‘१२ औँ कपिलवस्तु डान्स आइडल’ को फिजिकल अडिसन मंगलबार (आज)बाट हुने भएको छ । आइडलको लागि आवेदनको म्याद सकिएसंगै अडिसनको समय सुरु हुन लागेको हो । आइडल संयोजक खड्क बहादुर क्षेत्रीले मंगलबार (आज) विहानसम्म आवेदन फारम लिइने र मंगलबार मध्यान्हदेखि फिजिकल अडिसन सुरु हुने बताए ।

उनका अनुसार समयअवधिभित्र मोबाइलबाट समपर्क गरेर पनि अडिसनमा सहभागिता जनाउन सकिने छ । संयोजक क्षेत्रीले अइडलको अडिसन क्लबको भवन बुद्ध रंगशालामै हुने पालिका पत्रलाई जानकारी दिए । क्षेत्रीले यसपटक डान्स आइडललाई अझै राम्रोसंग ब्यवस्थित गर्न लागिएको बताए ।

पुरस्कारको नगद राशी पहिले दिइएभन्दा यसपटक धेरै रहेको महोत्सवका संयोजक राज कुमार खाँणको भनाई छ ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ र सान्तवनालाई समेत पुरस्कार दिइने संयोजक क्षेत्रीले जानकारी दिए ।

यसअघि विजेतालाई १ लाख ११ हजार १ सय सम्म दिइएको थियो भने कपिलवस्तु उद्योग वाणिज्य संघले पछिल्ला संस्करणमा मोटरसाइकल र स्कुटर दिएको थियो । स्थान प्राप्त गर्नेले नगदसंगै बिभिन्न गिफ्ट ह्यामपर पनि पाउने बताइएको छ । क्षेत्रीका अनुसार पुरस्कारसंगै आइडलमा छनौट भएका सबैलाई सहभागिताको प्रमाण पत्र दिने काम हुने छ ।

यस क्षेत्रको पर्यटन उद्योग, व्यापार, भेषभूषा र कला संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न आगामी मंसिर २१ गतेदेखि पुष १ गतेसम्म चारनम्बरको जितपुर बुद्ध रंगशालामा महोत्सव हुने महोत्सव संयोजक तथा आयोजक वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताए । महोत्सव हुने भएपछि तयारी पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्