कृष्णनगरले सुरु गर्यो नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण


७ मंसिर २०८०, बिहीबार ११:०२ मा प्रकाशित

मंसिर ७ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पुरानो नक्सा पास नभएका भवनहरुको अभिलेखीकरण गरी घर नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु गरेको छ । नगरपालिकाका प्रमुख रजत प्रताप शाहले अभिलेखीकरणका लागि दर्ता भएका नगरपालिका वडा नम्बर १ स्थित बिरसेन कुर्मीको निवेदनको घर नक्सा अभिलेखिकरण प्रमाणपत्र उनलाई प्रदान गरेर वितरण कार्यको सुरुवात गरे ।

जसका लागि कार्यालयले २०८० असोज ७ गते चालु आर्थिक बर्षको चैत्र मसान्त सम्म म्यादको सार्वजनिक सूचना जारी गरेर मापदण्ड अनुसार नगरपालिका क्षेत्रभित्र निर्माण भएका तर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त नभएका (सार्वजनिक मापदण्डका कारण नक्सापास नभएका बाहेक) आवसीय घर तथा भवनका संरचनाहरुको नक्सा नियमित वा अभिलेखीकरण गराउनका लागि आह्वान गरेको थियो ।

नगरबासीले घर बनाएर नक्सा पास नगर्दा विभिन्न निकायमा समस्या भोग्न थालेको गुनासो गर्न थालेपछि नगरपालिकाको कार्यालयले पुरानो नक्सा पास नभएका भवनहरुको नक्सापास नियमित गर्ने सम्बन्धी नगरपालिकाको स्वीकृत पुरानो भवनहरुको अभिलेख ब्यवस्थापन सम्बन्धी निर्देशिका २०८० अनुसार घर नक्सा अभिलेखीकरण गरी प्रमाणपत्र वितरण सुरु गरेको हो ।

सूचना पश्चात म्याद अवधीमा घर नक्सा अभिलेखीकरण गराउनका लागि प्राप्त निवेदन दर्ता भइ नियमअनुसार कार्य भइरहेको कृष्णनगर नगरपालिकाका इन्जिनियर बिनय कुमार गुप्ताले जानकारी दिए । दर्ता भएका निवेदनहरुमा कार्यवाही भइरहेको र क्रमशः अन्य घरधनीहरुलाई पनि मापदण्ड अनुसार अभिलेखीकरण प्रमाणपत्र उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए ।

पुरानो घर नक्सा पास नगरेका नगरबासीले समस्या भोग्न थालेपछि आफूहरुले नगरवासीको हितमा समस्याको निकास निकालेर कार्य गरिरहेको नगरप्रमुख शाहले बताए । घर निर्माण गरिसकेको तर मापदण्ड अनुसार भएपनि कार्यालयबाट निर्माण सम्पन्न प्रमाणपत्र नलिएका नगरबासीहरुले दुःख पाएको गुनासो आउन थालेपछि हामीले नगरबासीको हितमा नक्सा सम्बन्धी कार्यविधी संशोधन गरेर भवन तथा योजना मापदण्डअनुसार अभिलेखीकरण गरी निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्न थालेका हौं’ नगरप्रमुख शाहले भने, ‘यस कार्यले समस्यामा परेका नगरवासीहरुको समाधान गर्ने प्रयास गरेका छौँ ।’

घर नक्सा अभिलेखीकरण प्रमाणपत्र प्राप्ती पछि घरधनी बिरशेन कुर्मीले नगरपालिकाले गरेको कार्यको प्रशंसा गरे । उनले अभिलेखीकरण प्रमाणपत्र नहुँदा आफूहरुलाई धेरै समस्या परेको बताउँदै अब प्रमाणपत्र प्राप्ती पछि धेरै सहज हुने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्