तौलिहवा उद्योग बाणिज्य संघमा त्रिपक्षीय भिडन्त, कस्ले मार्ला बाजी ?


७ मंसिर २०८०, बिहीबार २२:३३ मा प्रकाशित

मंसिर ७ गते । कपिलवस्तुको तौलिहवा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु अघोषित प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि ५ वर्षपछि हुन लागेको निर्वाचनमा निवर्तमान अध्यक्ष गयादिन कुर्मी (दिपु), महासचिव अर्जुन चापागाई, र धीरज कुमार गुप्ता (संजय) अध्यक्ष पदका दावेदार हुन् ।

निर्वाचन कार्यतालिका अनुसार बिहिबार अध्यक्षमा तीन जनाको उम्मेद्वार दर्ता गराइएता पनि निर्वाचनमा दुई प्यानल बनाएर आ–आफ्नो उम्मेदवारी दर्ता गरेको श्रोतको भनाइ छ ।

कपिलवस्तु जिल्लाको सदरमुकाममा रहेको संघ भएकाले पनि संघ प्रति सबैको चासो बढ्दै गएको छ । यसैपनि, संघको अध्यक्ष पदका लागि ह्याट्रिक मार्ने दाउमा रहेका गयादिन कुर्मी (दिपु)को अवको निर्वाचन परिणाम कस्तो आउला भन्नेमा चाँसो देखिन्छ भने अहिलेका अध्यक्षका आकांक्षी रहेका धीरज कुमार गुप्ता (संजय) र कुर्मीबीचको रोचक तेस्रो भिडन्त रहेकाले पनि चाँसो बढ्नु स्वभाविक छ ।

कुर्मीसँग गुप्ता २०७२ सालमा भएको संघको निर्वाचनमा अध्यक्ष पदमा हार बेहोरे । त्यसलगत्तै २०७५ मा भएको संघको चुनावमा पनि गुप्ताले हारे । त्यहि हारको बदला लिन गुप्ता पुनः तेस्रोपटक अध्यक्षमा लडेका छन् । कुर्मी भने आफुले ह्याट्रिक मार्नेमा बिश्वस्त देखिन्छन् ।

मंसिर १३ गते हुने कार्यसमितिको निर्वाचनलाई मंसिर ७ गते उम्मेदवारी दर्ताको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको थियो । अहिले अध्यक्ष पदमा नयाँ अनुहारका रुपमा निबर्तमान महासचिव अर्जुन चापागाईले उम्मेद्वार दिएका छन् । महासचिव पदमा सर्वाधिक मत ल्याई जितेका चापागाई अध्यक्ष पदका बलिया उम्मेद्वार मानिन्छन् ।

सरल र सहयोगी स्वभावका छवि बनाएका चापागाईलाई पराजित गर्न अन्य दुई उम्मेद्वारलाई फलामको चिउरा चपाए जस्तो हुन सक्ने तौलिहवाका अधिकांश ब्यापारीको आंकलन छ ।

चापागाईले व्यवसायीको हकहितका लागि नयाँ एजेण्डाका साथ नेतृत्व लिन चाहेको बताउछन्। उनले भने, ‘यहाँका व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेछ । बजार व्यवस्थापनका कुरा छन् । समग्रमा व्यवसायीको हकहितका लागि काम गर्छु ।

तीनैजना प्रतिस्पर्धीहरु आफूलाई अधिकांश उद्योगी व्यवसायीहरुको समर्थन रहेको दावी गर्छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव र अनन्त भारती (बाबा) बीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्ष पदका लागि अजय कुमार कशौधन र मोहम्मद जमा मसुलमान (बब्लु) बीचमा प्रतिस्पर्धा हुनेछ । महासचिवमा देवेश जैसवाल र गिरिजेश शरण चौधरी बीचमा प्रतिस्पर्धा हुनेछ ।

सचिवमा बासुदेव बर्मा (अजय) र बिरेन्द्र कुमार गुप्ताबीच प्रतिस्पर्धा हुनेछ । सचिव पदका उम्मेद्वार तौलिहवाका उद्यमी हुनुका साथै संचार कर्मसँग पनि सामेल छन् । गुप्ता भने बिभिन्न संघसंस्थामा आवद्ध छन् ।

कोषाध्यक्ष पदमा बृजेश भटरा, नसिरुद्धिन गौरी र चन्द्रशेखर गुप्ता (पिन्टु) बीचमा प्रतिस्पर्धा हुने भएको छ । भटरा अध्यक्ष पदको उम्मेद्वारको दाबेदार रहेको भनिए पनि अन्तिम समयमा उम्मेद्वारी दर्ताको समयमा उनले कोषाध्यक्षमा चित्त बुझाए । यस्तै गौरी र गुप्ताको सरल स्वभावले ब्यवसायीको मत जित्छ या जित्दैन ? त्यो भने हेर्न बाँकी नै छ । तीनै जना उम्मेद्वारलाई आन्तरिक कसरत बलियो तरिकाले गर्नुपर्ने भने देखिन्छ ।

सदस्यहरुमा भने बलराम कशौधन, बृज बिहारी कुर्मी, मुस्ताक अहमद, अंकित कुमार कान्दु, संजय कुमार राय सिह, पशुपति प्रसाद तेली, अनिल कुमार गुप्ता, सुनिल कुमार गुप्ता कशौधन, देबेन्द्र गुप्ता, सुनिल पाठक र अमिका कुर्मी बीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिला सदस्यहरुमा कनिज फातिमा रंगरेज र प्रिती अग्रहरी बीच प्रतिस्पर्धा हुनेछ । तौलिहवा उद्योग बाणिज्य संघको एसोसिएट सदस्यमा भने रामचन्द्र मुराउ निर्बिरोध निर्बाचित भएका छन् ।

तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन यहि मंसिर १३ गते हुने मुख्य निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले बताए । निर्वाचनका लागि १४ सय १३ जनाको मतदाता नामावली प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्