पालिकाको सहयोगमा गैडहवा तालको प्रचार गर्न भलिबल तथा महोत्सव


पालिका पत्र

१० मंसिर २०८०, आईतवार ०७:०७ मा प्रकाशित

कपिलवस्तु, मंसिर १० । रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको जिल्लाको सबैभन्दा ठूलो गैहडवा तालको प्रचार गर्न पालिकाको सहयोगमा भलिबल तथा महोत्सव आयोजना गरिने भएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको यो पालिकाले पर्यटन प्रवद्र्धन गर्न यो ताललाई गौरवको आयोजनामा राखेर काम गरिरहेको छ । पछिल्लोपटक पालिकाको सहयोगमा तालको बिकास तथा प्रचार प्रसारका लागि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

गैडहवा गाउँपालिका वडा नं ४ मा अवस्थित तालको बिकासका लागि यही मंसिर २७ देखि ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला आयोजना हुने भएको हो ।

स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए । यसैगरी ३ जना मात्रै राष्ट्रिय स्तरका खेलाडीले एक समुहमा भाग लिन पाउने उनले बताए ।

प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए । यसैगरि उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।

स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीसहित ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाएको छ । प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन विकासका लागि पनि कार्यक्रम सफल रहने उल्लेख गरे ।

जिल्लाकै ठूलो ताल गैडहवामा हजारौं प्रजातीका चराहरु विचरण गर्ने थलोका रुपमा रहेको बताउँदै उनले ताललाई बिकास गर्नेगरी गाउँपालिका अघि बढेको उल्लेख गरे । लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको विकास, नागरिकमा सीप विकास गरी होटस्टे सञ्चालको तयारी तथा सम्भाव्यताको अध्ययन गरी पर्यटकीय स्थलहरु थप गर्ने गरी अघि बढिएको उनले बताए ।

विश्व सिमसार क्षेत्रमासमेत सूचीकृत ताल जिल्लाकै सबैभन्दा ठूलो हो । सुरुमा गैडाहरु आहाल बस्ने भएकाले तालको नाम गैडहवा राखिएको हो । तालमा पर्यटक लक्षित २ वटा अटोमेटिक मेशिन जडित तथा २ वटा खुट्टाले चाल्ने डुङ्गा सञ्चालनमा रहेको छ ।स्थानीयका अनुसार सयौं वर्षअघि मानव निर्मित गैडहवा ताल ५० विघा क्षेत्रफलमा जलासय रहेको छ । यसको पूरा क्षेत्रफल ८४ विघा छ ।

प्रतिक्रिया दिनुहोस्