खाद्य प्रणाली सम्बन्धी रणनीतिक योजना तर्जुमा, लुम्बिनी प्रदेश कै पहिलो बाणगङ्गा


पालिका पत्र

१० मंसिर २०८०, आईतवार ०८:११ मा प्रकाशित

कपिलवस्तु, मंसिर १०। खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले लुम्बिनी प्रदेश मै पहिलो योजनाका रुपमा खाद्यअधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा गर्नका लागि ९ सदस्यीय कार्यदल निमार्ण गरेको छ । बाणगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । समितिको सदस्यहरूमा वडा नं. ५ का वडा अध्यक्ष दुनिका भुसाल, कार्यपालिका सदस्य शान्ता पाण्डे, योजना शाखा प्रमुख शान्तराज आचार्य, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, पशुसेवा शाखा प्रमुख डा. यमलाल पोख्रेल रहेका छन् । यसैगरी समिति सदस्यमा निजी संघ संस्था तथा सहकारीबाट द्रोणराज सुवेदी, मिडियाको तर्फबाट सरिता थारू रहेका छन् । यस्तै कार्यदलको सदस्य सचिवमा कृषि शाखा प्रमुख लेस बहादुर केसी रहेका छन्।

यसैगरी समितिको संरक्षक तथा सल्लाहकारमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी रहेका छन्। कार्यक्रममा “खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना” को मस्यौदा परिमार्जन गर्न नगर प्रमुख चक्रपाणी अर्यालले कार्यदलका संयोजक कमल पौडेललाई हस्तान्तरण गरेका थिए ।

यसैबीच कार्यदलको पहिलो बैठक शुक्रबार बसेको छ । बैठकले खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजनाको पहिलो मस्यौदा पुस मसान्त सम्म तयार गरि कार्यपालिका बैठकबाट पारित गराई राष्ट्रिय योजना आयोगमा पठाउने निणर्य भएको सदस्य सचिव लेस बहादुर केसीले बताए। कार्यक्रमको समापन सत्रमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव यम नारायण देवकोटाले प्रदेश मै पहिलो पटक बाणगङ्गा नगरपालिकामा पाइलटिङको रुपमा यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

उनले गठन भएको कार्यदलले छिटो भन्दा छिटो मस्यौदा तयारी गरि कार्यक्रमलाई अगाडि बढाउन आग्रह गरे । यस्तै कार्यक्रममा खाद्य तथा कृषि सङ्गठनका कन्ट्री रिप्रिजेन्टेटिभ केन सिमिजुले जलवायु परिवर्तन तथा कोरोना महामारीले खाद्य प्रणालीमा नकरात्मक असर परेको भन्दै खाद्य सुरक्षाका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा जोड दिए ।


यता तालिमको समापन गर्दै बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कार्यदलले निमार्ण गरेको योजना आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने बताए । उनले कार्यदलले निमार्ण गरेको रणनीतिक योजना नगरको विकासमा कोसेढुंगा सावित हुने बताए ।

समापन कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव एवं खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबर्द्धन महाशाखा प्रमुख प्रमुख घनश्याम चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी , बाणगङ्गाका निर्वाचित सबै वडाका वडाध्यक्षहरू, शाखागत प्रमुखहरू, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, उद्योग वाणिज्य संघ, सहकारीका प्रतिनिधि, अगुवा कृषक, कृषक समूहका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो।


३ दिन सम्म सञ्चालन भएको तालिममा विश्व खाद्य सङ्गठनका पुष्प श्रेष्ठ, चन्द्र थापा, पन्ना महर्जन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका महेश खरेलले सहजिकरण गरेका थिए। तालिम बाणगङ्गा नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना तथा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र सङ्घको खाद्य र कृषि सङ्गठनको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्