कपिलवस्तुका ७ पालिकाले किन दिए सार्वजनिक बिदा ?


पालिका पत्र

१० मंसिर २०८०, आईतवार १७:३२ मा प्रकाशित

मंसिर १० गते । कपिलवस्तुका ७ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र बिजयनगर गाउँपालिकाले कार्तिक स्नान (पूर्णिमा) नहान मेलाको अवसरमा सोमबार बिदा दिएका हुन् ।


सोहि क्रममा, ऐतिहासिक नहान मेला अर्थात कार्तिक शुक्ल पूर्णिमा पर्वको अवसरमा भोली सोमवारका दिन बिदा दिइएको छ । कपिलवस्तु नगरपालिकाले मेलाको अवसरमा नगरपालिका भित्रका सबै नगरकार्यपालिकाका कार्यालय, वडा कार्यालय, अतिआवश्यक सेवा बाहेकका स्वास्थ्य संस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय विदा रहेको जनाएको छ ।

यस्तै, नेपालीहरुको बिशेष पर्व कार्तिक शुक्ल पूर्णिमा (नहान मेला) को अवसरमा सम्पुर्ण नगरवासीहरुको मनोकामना पुर्णहोस भन्ने शुभकामना ब्यक्त गर्दै आकस्मिक सेवा वाहेक सोमबार नगरपालिका कार्यालय र मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरुलाई समेत स्थानीय पर्व विदा दिईएको महाराजगंज नगरपालिकाले जनाएको छ ।

यता, कृष्णनगर नगरपालिका क्षेत्रमा मनाईने कार्तिक स्नान तथा गुरु नानक जयन्ती पर्वको अवसरमा मिति उक्त दिन कृष्णनगर नगरपालिकाको कार्यालय तथा अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, आकस्मिक तथा वर्थिंग सेन्टर सेवा वाहेकका स्वास्थ्य संस्था, विद्यालय तथा संघ संस्थाहरुमा सार्वजनिक विदा दिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, कार्तिक शुक्ल पूर्णिमा (नहान मेला)को अवसरमा सोमवारका दिन आकस्मिक स्वास्थ्य सेवा बाहेक मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरु, शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

यसैगरि, हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व कार्तिक शुक्ल पूर्णिमा (गुरु नानक जयन्ती) स्थानीय नहान मेलाको शुभ अवसरमा स्थानीय बिदा दिने निर्णय गरिएको शुद्धोधन गाउँपालिकाले जनाएको छ ।


साथै, यशोधरा र बिजयनगर गाउँपालिकाले पनि कार्तिक शुक्ल पूर्णिमा (नहान मेला)को अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

यस्तै जिल्लाको प्रसिद्ध रामघाट नदीमा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । उक्त मेलामा कपिलवस्तुका मात्रै नभएर देशका बिभिन्न जिल्ला तथा छिमेकी मित्रराष्ट्र भारतका बिभिन्न ठाउँका दर्शनार्थीहरु समेत आउने गर्दछन् ।

यस्तै, शिख धर्मका प्रवर्तक गुरु नानकको जन्म जयन्ती पनि सोमबार मनाईदैछ । शिख धर्माबलम्बीहरुले आफ्नो गुरुको जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्