तौलिहवा उद्योग बाणिज्य संघमा कुर्मीको ह्याट्रिक


१४ मंसिर २०८०, बिहीबार १९:१५ मा प्रकाशित

कपिलवस्तु, मंसिर १४ । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा गयादिन कुर्मी (दिपु) निर्वाचित भएका छन् । कुल खसेको १ हजार ८२ मध्ये ५ सय ८ मत प्राप्त गरि कुर्मी निर्वाचित भएका हुन् । बुधबार भएको संघको निर्वाचनको मतगणना बिहिबार साँझ सम्पन्न भएको हो ।

कुर्मीका प्रतिद्वन्द्वी धिरज कुमार गुप्ता (संजय)ले ३ सय ३८ मत र अर्का प्रत्याशी अर्जुन चापागाँईले २ सय २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले जानकारी दिए ।

संघको बरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव र उपाध्यक्षमा अजय कुमार कशौधन निर्वाचित भएका छन् । श्रीवास्तवले ६ सय ७९ र कशौधनले ५ सय ३७ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्ष तर्फका प्रत्यासी अनन्त भारती (बाबा)ले ३ सय ६० र मोहम्मद जमा मुसलमानले ४ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रीवास्तवले बताए ।

संघको महासचिवमा चापागाई नेतृत्वको प्यानलका देवेस जैसवाल बिजयी भएका छन् । उनले ५ सय ६५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी महासचिवका प्रत्यासी गिरजेश शरण चौधरीले ४ सय ६२ मत प्राप्त गरेका छन् ।

सचिवमा कुर्मी प्यानलकै बासुदेव बर्मा (अजय) बिजयी भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सचिव पदका प्रत्यासी बीरेन्द्र कुमार गुप्ताले ३ सय ८३ मत प्राप्त गरेका छन् ।

संघको कोषाध्यक्षमा तीन जना बीचमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये बृजेश भटरा बिजयी भएका छन् । स्वतन्त्र तवरले लडेका भटराले ३ सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नसीरुद्धिन गौरीले ३ सय ७० मत प्राप्त गरेका छन् भने चन्द्रशेखर गुप्ता (चिन्टु)ले २ सय ७० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा चापागाई प्यानलकी प्रिती अग्रहरी बिजयी भएकी छिन् । उनले ५ सय ४२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कनिज फातमा रंगरेजले ४ सय ८२ मत प्राप्त गरेकी छिन् ।

सदस्य पदमा कुर्मी प्यानलकै बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र चापागाई प्यानलका सुनिल कुमार गुप्ता कशौधन बिजयी भएका छन् ।

तेस्रोपटक ह्याट्रिक मारेका नवनिर्वाचित अध्यक्ष गयादीन कुर्मी (दिपु)ले सबै उद्योगी, ब्यवसायीलाई समेटेर लैजाने बताए । निर्वाचनमा एउटाको जीत र अर्काेको पराजय हुने भएकोले आफूले सामान्य रुपमा लिएको बताउँदै अध्यक्षका प्रत्यासीको भावनाको कदर गर्दै तौलिहवा उद्योग बाणिज्य संघमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्