तौलिहवामा साप्ताहिक रुपमा बुधबार बजार बन्द हुदैं


पालिका पत्र

२४ मंसिर २०८०, आईतवार १०:१७ मा प्रकाशित

मंसिर २४ गते । कपिलवस्तु सदरमुकाम तौलिहवामा साप्ताहिक रुपमा बुधबार बजार बन्द हुने भएको छ ।

तौलिहवा उद्योग वाणिज्य संघको कार्यक्षेत्र भित्रका व्यापारिक फर्महरु बुधबार नियमित बजार बन्द हुने भएको हो । तौलिहवा उद्योग वाणिज्य संघको बैठकले आउदो मंसिर २७ गते देखी सबै व्यापारिक फर्महरु बुधबार नियमित रुपमा बन्द गर्ने निर्णय गरेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी (दिपु)ले बताए ।

विगतमा तौलिहवाका बजारहरु बुधबार नै बन्द हुदै आएकोमा यहाँका उद्योगी, ब्यवसायीहरुकै माग र चाहनालाई सम्बोधन गर्न बुधबार बजार बन्द गर्ने तयारी गरिएको सचिव बासुदेव बर्मा (अजय)ले जानकारी दिए । बन्दलाई एकरुपता ल्याउन स्थानिय पालिका र हाटबजार समितिसँग छलफल समेत गरिने उनले बताए ।

साप्ताहिक बन्दलाई प्रभावकारी बनाउन सचिव बर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिती गठन गरिएको छ । जस्मा उपाध्यक्ष अजय कुमार कशौधन, कोषाध्यक्ष बृजेश भटरा, सदस्य पशुपती प्रसाद तेली, ब्यापारीहरु प्रमोद गुप्ता, शिवचरण केवट र मोहित कशौधन सदस्य रहेका बरिष्ठ उपाध्यक्ष सन्दिप कुमार श्रीवास्तवले बताए ।

संघको निर्णयको व्यापारीहरूले स्वागत गरेका छन् । संघको कार्यक्षेत्र भित्र सदरमुकाम तौलिहवा, पडकी र लबनी बजार पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्