कपिलवस्तुमा सन् २०२३ मा ३५४ वटा मानव अधिकार उल्लघंनका घटना, सबैभन्दा बढी घरेलु हिंसा


पालिका पत्र

३० मंसिर २०८०, शनिबार ०९:४६ मा प्रकाशित

मंसिर ३० गते । कपिलवस्तुमा सन् २०२३ को अवधिमा ३ सय ५४ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्याङक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुले सार्वजनिक गरेको तथ्याङकमा जिल्लामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ३ सय ५४ वटा घटना भएका हुन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षा कार्यक्रममा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२३ मा जिल्लामा उक्त घटनाहरू भएका तथ्यांक प्रस्तुत गर्नुभएको थियो । जसमध्ये बाल अधिकार अन्तरगत बलात्कारका १६ वटा, शरिर बन्धक बलात्कार २ वटा, यौन दुर्व्यवहारका ६ वटा, महिला अधिकार अन्तरगत बलात्कार ८ वटा, बलात्कार प्रयासका ५ वटा, मानव बेचविखन तथा ओसारपसारका २ वटा र परिवारजनबाट हत्या ७ वटा रहेका छन् ।

यस्तै, लागू औषध ब्राउन सुगर घटनाका आरोपीतको प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यू १ वटा, अपहरण तथा शरिर बन्धक १ वटा, बहुविवाह ५ वटा, कुटपीट र अभद्र व्यवहारका ३ वटा र लैगिंक हिंसा तथा घरेलु हिंसाबाट २ सय ९८ जना पीडित भएको ईन्सेकको तथ्याङ्कले देखाएको छ ।

यस्तै, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व समीक्षा समेत गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिती कपिलवस्तु प्रमुख बाबुराम आचार्यले मानवअधिकार उल्लघंनका घटना न्यूनीकरण गर्न राज्यले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

मानव अधिकारका घटनामा आफू संवेदनशील रहेकाले अरुलाई पनि सचेत रहन उनको अनुरोध छ । मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा कमी ल्याउन स्थानिय सरकारले समुदाय स्तरमा जनचेतना मूलकका कार्यक्रमहरुलाई थप प्राथमिकता दिनुपर्ने आचार्यको भनाई छ । न्यायीक समितीहरु सक्रिय भए धेरै हिंसाहरु स्थानिय तहमा नै समाधान हुने प्रमुख आचार्यले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत मानव अधिकारको अवस्थालाई तथ्यको आधारमा देखाउने एक दस्तावेज भएको बताए । कार्यक्रमले सरकारलाई झक्झकाउने तथ्यांक दिने उनको भनाइ छ । स्थानिय तहमा रहेका न्यायीक समिती सक्रिय भए जिल्ला प्रशासन र प्रहरीमा बिभिन्न घटनाका उजुरीहरुमा कमी हुने भएको भन्दै जिल्लामा बढ्दो आत्महत्याको घटनालाई न्यूनिकरण गर्न इन्सेकले बिशेष भूमिका खेल्न आवश्यक देखिएको समेत उनले बताए ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बढ्दो अनमेल विवाह र आत्महत्याका घटनालाई न्यूनिकरण गर्न इन्सेकले बिभिन्न सरोकारवालाहरुसंग अन्तरक्रिया गरि मानव अधिकारको संरक्षण गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले थुनुवाहरूको मानव अधिकार प्रति प्रहरी जिम्मेवार रहेको बताए । शिक्षा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले मानव अधिकार उल्लघंनका घटनाहरुमा कमी ल्याउन शिक्षामा लगानी लगाउनु पर्ने बताए । इन्सेक सदस्य रुकैया खातुनले स्थानिय तहले आफ्नो जिम्मेवारी पुरा गर्न सके र नागरिकहरुलाई सचेतीकरण गरेमा घटनाहरुमा कमी आउने बिश्वास ब्यक्त गरे ।

माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुर, मानव अधिकारकर्मी पशुपतिमणी त्रिपाठी, इन्सेकसंग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी लगायतले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नहुँदा थप पीडामा पर्ने गरेको सुनाए । उनीहरूले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश पीडितहरू होस्टाइल हुने गरेको उल्लेख गरे । बलात्कार, यौन दुव्र्यवहार, हत्या र अधिकांश बहुविवाह कसुरका पीडितहरू अदालतसम्म पुग्दा होस्टाइल भइसक्ने उनीहरुले औंल्याए ।

ओरेक नेपालका मनोविमर्शकर्ता सुस्मा आचार्य, सुरक्षित आवास गृह कपिलवस्तुका प्रमुख बिमला घिमिरे, नव जिवन संस्थाका प्रमुख तथा लैंगिंक यौनिक तथा अल्पशंख्यक समुदायका अभियान्ता प्रेरणा बिष्टले साईवर क्राईमको उजुरीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट कार्यान्वय गर्नुपर्ने, करणी भएका महिलाहरुबाट जन्मीएका बालबालिकाहरुको अधिकारका लागि आवश्यक कागजपत्रहरुमा सहजीकरण गर्नुपर्ने, स्थानिय पाठ्यक्रममा यस्ता खालका बिषयबस्तुहरु समेट्नुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितका उपप्रमुख रमेश कुर्मी, गैर सरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, शसस्त्र प्रहरी कार्यालयका डीएसपी हिरा बहादुर बोहरा, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्