सवारी दुर्घटना न्यूनिकरण अभियान : सवारी चालकलाई सचेत गराउँदै लुम्बिनी प्रदेश सरकार


२ पुष २०८०, सोमबार ११:२६ मा प्रकाशित

कपिलवस्तु, पुष २ गते । सवारी दुर्घटना न्यूनिकरण अभियानलाई निरन्तरता दिँदै लुम्बिनी प्रदेश सरकार जिल्ला दौडाहामा लागेको छ । सवारी चालकलाई सचेत गराउँदै सवारी दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने अभिलाषाका साथ लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरिरहेको हो ।

यसैक्रममा, बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । कपिलवस्तुको बाणगंगामा भएको सचेतना अभिबृद्धि कार्यक्रममा ७० बढि सवारी चालकहरूलाई सहजीकरण गरिएको बताइएको छ ।

नयाँ सवारी चालकहरूलाई सवारी नियम कानुनको विषयमा ज्ञान नभएको हुँदा दुर्घटना हुने जोखिम देखिएकोले सचेतना मूलक प्रशिक्षण गरिएको मन्त्रालयका उप–सचिव राजेन्द्र प्रसाद पन्थीले बताए । उनले लुम्बिनी प्रदेशमा जारी भएका यातायात सम्बन्धी ऐन तथा कानून, मन्त्रालयले यातायात क्षेत्रको सुधारको लागि चालेका कदम, आगामी लक्ष्यका बारेमा अभिमूखिकरण प्रदान गरेका थिए ।

दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालकलाई सचेत बनाई जिम्मेवारी बोध गराउन ‘सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रम’ गरिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिष भण्डारीले बताए । तिब्र गतिका कारण सबैभन्दा बढि दुर्घटना हुने हुदा गाडीको गति सिमित राखी ट्राफिक नियमको पालना गरि सवारी साधन चलाउनु पर्ने भण्डारीले बताए।

दुर्घटना बाजा बजाएर नआउने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको उपाय भएको बताउंदै कार्यक्रमले चालकलाई सचेत र जिम्मेवार वनाउनुका साथै यात्रामा सहज वातावरण निर्माण गर्ने भण्डारीले बताए । अभिमुखीकरण प्रदान गर्दै भण्डारीले जिल्लामा सवारी दुर्घटनाको अवस्था, दुर्घटना हुनुका मुख्य कारण, सवारी चलाउँदा वा चलाउनुपूर्व चालकले ध्यान दिनुपर्ने कुरा र ट्राफिक नियमको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी चालक तथा ब्यवसायीहरुले कागजात नविकरण तथा रुटपरमिटमा देखिएका समस्या, बाटोको अवस्था, जेव्रा क्रसिंग, छाडा चौपाया लगायतका बिषयमा समस्या तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा बस, टिप्पर, अटो रिक्सा, जिप, ट्याक्टरका सवारी चालकको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको संयोजन तथा ब्यवस्थापनमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिष भण्डारी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सबैपक्ष सहज हुनुपर्नेमा जोड दिइन् । ब्यवसायी, चालक र यात्री सबैपक्ष जिम्मेवार बनेको खण्डमा दुर्घटनाका जोखिम नियन्त्रण हुने उनको भनाइ छ ।

सहजीकरणले सवारी चलाउँदा प्रयोग गर्ने लेन (बाटो), सवारी दुर्घटना सम्बन्धी नियम कानुन, नेपालमा सवारी दुर्घटनाको अवस्था, बढी सवारी दुर्घटना हुने कारणको विषयमा जानकारी भएको सवारी चालकहरु बताउँछन् ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सहलेखापाल कृष्ण बहादुर पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन अधिकृत लेखनाथ अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्