गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा


पालिका पत्र

२ पुष २०८०, सोमबार १८:५९ मा प्रकाशित

गैंडहवा, पुस २ ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए । “हामीले पालिकाभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न”, उनले भने–“अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं ।” उनले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । छलफल कार्यक्रममा बोल्दै गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले गैंडहवामा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसार जनशक्ति परिचालन गर्न जोड दिइने बताइन् । उनले उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गर्नुपर्नेमा जोड दिंदै आगामी दिनमा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुने बताइन् । स्वास्थ्य कार्यालय रुपन्देहीकहा प्रमुख गौरव ढकालले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताए । गैडहवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले स्वास्थ्य सबभन्दा महत्वपूर्ण रहेको भन्दै शुद्ध पानी पिउनु, ताजा खानेकुरा खानु, दैनिक व्यायाम गर्नु मानिसका लागि अत्यावश्यक रहेको बताए । उनले गैंडहवाको स्वास्थ्यको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए । उनले स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा वडामा रहेका स्वास्थ्य चौकी र गाउँपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरे । सेतो गुराँस समूह रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले कार्यक्रम सेतो गुराँसले सधै पालिकासंग समन्वय गरेर काम गर्ने बताउँदै शिक्षा र स्वास्थ्यमा सधै सेतो गुराँसले काम गर्दै आएको बताइन् । कार्यक्रममा वडा अध्यक्षहरु प्रदिप कुमार चौधरी, रामअजोर यादव, सुरेन्द्र कुर्मी, भुवन राना, मिना क्षेत्री, छत्रपुरा आधारभूत स्वास्थ्य केन्द्रका रामबहादुर परियार, सेतो गुराँस रुपन्देही संयोजक मिनु पुन श्रेष्ठ, स्वास्थ्य शाखा वरिष्ठ अनमी निरीक्षक सीता गौतम लगायतले स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने विभिन्न कामबारे सुझाव राखेका थिए । कार्यक्रममा गैडहवा गाउँपालिका वडा नं. १ देखि ९ वडा सम्मका स्वास्थ्य चौकीका प्रमुखहरु सहभागी थिए । कार्यक्रममा हेलन केलर इन्टरनेशनल परियोजनाका प्रदेश प्रमुख भरत शर्माले प्रशिक्षण दिएका थिऐ भने तथ्यांक ब्यवस्थापक अधिकृत जितेन्द्र कोहार, समुदाय परिचालक मुना कुँवर र अनु श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । ।

प्रतिक्रिया दिनुहोस्