कपिलवस्तु बहुमुखी क्याम्पसले पायो ‘क्युएए सर्टिफिकेट’


२३ पुष २०८०, सोमबार २१:४१ मा प्रकाशित

पुष २३ गते । कपिलवस्तुकै जेष्ठ शैक्षिक धरोहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस, तौलिहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका तीनवटा क्याम्पसमध्ये कपिलवस्तु बहुमुखी क्याम्पस पनि पर्न सफल भएको हो । गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ ।

कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल हुनु आफैँमा गर्वको कुरा भएकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना रहेको क्याम्पस प्रमुख डा. बिनय पाण्डेले जानकारी दिए । सो क्याम्पसको चौतर्फी विकासका लागि प्राप्त क्युएए प्रमाणपत्र मापदण्ड अनुसारको आगामी दिनमा शैक्षिक क्रियाकलाप अघि बढाइने प्रमुख पाण्डेको भनाइ छ ।

विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिस अनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख पाण्डेले बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामदास गुप्ताले नेपालभरि क्याम्पसले क्युएए प्राप्त गरेपछि खुशी लागेको बताउनुभयो । प्राप्त उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । क्याम्पसमा नयाँ विषय शुरु गर्ने बाटो खुलेको अध्यक्ष गुप्ताको भनाइ छ । क्याम्पसले छिमेकी क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उनको भनाइ छ ।

कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवा २०३७ सालमा स्थापना भएको थियो । क्याम्पसमा प्रविणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन/अध्यापन हुने गर्दछ । विश्वविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्ले पुष १९ गते नै कपिलवस्तु बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गरेको थियो ।

आयोगले कपिलवस्तु बहुमुखी क्याम्पस सहित देवदह बहुमुखी क्याम्पस रुपन्देही र दिक्तेल बहुमुखी क्याम्पस खोटाङ्गलाई क्युएए प्रमाणपत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्