बाणगङ्गाको १४ औं नगरसभाः दुई वटा महत्वपूर्ण विधेयक पारित


पालिका पत्र

२५ पुष २०८०, बुधबार १९:२१ मा प्रकाशित


बाणगङ्गा, पौष २५ । 

बाणगङ्गा नगरपालिकाले दुई वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । आज सम्पन्न नगरपालिकाको १४ औं नगरसभाले दुई विधेयक पारित गरेको हो । 

 विधेयक समितिका संयोजक बाबुराम अर्यालले प्रस्तुत गरेका वन विधेयक २०८०, बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक २०८० नगरसभाले पारित गरेको छ ।  

यस्तै खानेपानी तथा सरसफाइको क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरू सँग छलफल गरी तयार पारिएको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, २०७८ ( प्रथम संशोधन प्रस्ताव ) पारित गरेको हो ।

नगरसभाले राजस्व परामर्श समिति संयोजक समेत रहेकी नगर उप प्रमुख रिता कुमारी चौधरीले पेस गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्तावलाई पारित गरेको छ । 

सभामा नगरप्रमुख चक्रपाणी अर्यालले प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८० / ०८१९ को कुल बजेटको हालसम्म पुँजीगत तर्फ १५ प्रतिशत र प्रशासनतर्फ ३० प्रतिशत खर्च भएको जानकारी दिए ।

नगरपालिकाको कुल बजेट ९ अर्ब २३ करोड ९३ लाख ३५ हजार ४ सय ३३ रुपैयाँ हो । उनले उक्त बजेटको आम्दानी तर्फ ४१ प्रतिशत तथा खर्चतर्फ २३ प्रतिशत प्रगति भएको बताए । उनले आर्थिक वर्षको अन्त्यमा प्रशासनिक तथा विकासात्मक गतिविधिलाई द्रुत दिने प्रवृत्तिलाई न्यूनीकरण गर्न आग्रह समेत गरेका छन्‌ ।

वित्तिय जोखिम न्यूनीकरणमा नगरपालिकाले ८७ अङ्क प्राप्त गर्ने अनुमान गरि जिल्ला समन्वय समितिमा पठाएको उनले जानकारी दिए । उनले नगरका ११ वटै वडामा जीपीएस लोकेसन सहित घरको नम्बरिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताए । उनले नगरको भौतिक, आर्थिक, सामाजिक, वातावरणीय तथा समग्र विकासलाई अनुमानयोग्य बनाउन आवधिक योजनामा उल्लेखित स्वीकृत योजना बैंकबाट मात्र कार्य प्रक्रिया अघि बढाउने कामको थालनी गरेको उनको भनाई छ । बुधबार नगरपालिकाको आफ्नै सभाहलमा नगरसभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्