कपिलवस्तुमा बन्दुक देखाएर लाखौं लुटपाट


२७ पुष २०८०, शुक्रबार १०:३३ मा प्रकाशित

पुष २७ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ । बिहिबार अबेर बन्दुक देखाएर स्थानीय सुन ब्यापारीको लाखौंको लुटपाट भएको हो ।

साँझ साढे ५ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर यशोधरा गाउँपालिका ५ बुढापारका शिवमगंल बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपैया, तीन हजार भारु, सुन र चाँदी गरेर ७ लाख बढि मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।

मास्क र कपडाले मुख छोपेर आएका ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स संचालन गर्दै आएका बर्मा पसल बन्द गरि घरतर्फ जाँदै थिए ।

बैदोली र बुढापारको बीचमा पर्ने आँपको बगैचा नजिक लुटपाट भएको जनाइएको छ । घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीले बताए ।

‘चोरी भएको कुरा आइरहेको छ, त्यहाँ हामीले टोली खटाएका छौं र के कसरी घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’ उनले भने, ‘केही गरगहना लगेको कुरा आइरहेको छ, हामी अनुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्