कपिलवस्तु नगरपालिकाद्वारा आगो ताप्न निःशुल्क दाउरा वितरण


२७ पुष २०८०, शुक्रबार १८:३० मा प्रकाशित

पुष २७ गते । चिसो बढ्दै गएपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिकाले निशुल्क दाउरा वितरण गरेको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको स्थानीय वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक इन्द्रमणी कुर्मीले बताए ।

नगरपालिकाले खरिद गरेर मानिस बढी भिडभाड हुने स्थान र चोक चोकमा दाउरा वितरण गरेको छ । चिसोको समयमा गरिव विपन्न वस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै १२ ओटै वडाका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरेको नगरपालिकाका प्रमुख सुदीप पौडेलले बताए । ‘पछिल्लो केही दिन देखि यस क्षेत्रमा चिसो बढेको छ, उनले भने, ‘बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित भएको छ’ । मूख्य गरि गाउँका चोकचौराहा, बढि भिडभाड हुने कार्यालय एवंम् बिपन्न बस्तीहरुलाई केन्द्रित गरेर निशुल्क रुपमा दाउरा उपलब्ध गराएको पौडेलको भनाइ छ ।

चिसो बढ्दै गएपछि गरिव विपन्न परिवार समस्यामा रहेका छन् । जिल्लाका अन्य पालिकाले जाडोलाई लक्षित गरेर प्रभावकारी कदम चाल्न सकेका छैनन् । नगरपालिकाका १२ वटै वडाहरुमा प्रतिवडा एक चट्टा अर्थात दुई ट्राली दाउरा बितरण गरिने योजना रहेको वडा नम्बर ७ का वडाध्यक्ष एवम् संयोजक कुर्मीले बताए ।

चिसाको कारण जिल्लाको जनजिवन प्रभावित भएको छ । केही दिन देखि राम्रो संग घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने गरेका कारण चिसो बढेको छ । तापक्रम घट्दै गएका कारण मानिसहरुको चहलपहल पनि विस्तारै कम हुदै गएको छ भने अस्पतालहरुमा चिसाको कारण श्वासप्रश्वास संग सम्बन्धित विरामीको चाप विस्तारै बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्