यशोधरामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर, चारसय ४७ जना लाभान्वित


२७ पुष २०८०, शुक्रबार २०:०९ मा प्रकाशित

पुष २७ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाले दुईदिने निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य चेकजाँच तथा उपचार शिविर सञ्चालन गरेको छ । यशोधरा गाउँपालिकाको आयोजना तथा युनिभर्सल मेडिकल कलेज भैरहवाको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।

सामान्य चेकजाँच, नाक, कान, घाँटी, ढाड, जोर्नी र स्त्री रोगको बिशेषज्ञ सहितको सुरु गरिएको शिविरबाट शुक्रबार मात्रै चारसय ४७ जनाले स्वास्थ्य परामर्श तथा चेकजाँच गरि निशुल्क स्वास्थ्य सेवा लिएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र कुमार मिश्रले जनाए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व न्याय तथा कानुन मन्त्री वृजेश कुमार गुप्ताले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सवै सचेत हुनुपर्ने बताए । निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका जनताहरूलाई ठूलो लाभ मिल्ने बताउंदै गुप्ताले आयोजकप्रति धन्यबाद व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले सामान्य खर्चको अभावमा रोगको पहिचान गर्न समेत नपाएका र आफ्नो स्वास्थ्य जाँच गराउन खासै ख्याल नगर्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए ।

बिशेषज्ञ डाक्टरद्वारा शिविर सम्पन्न गरिएको र स्वास्थ्य परिक्षण गर्न आउनेहरु खुसी भएको मेडिकल कलेजका प्रशासकिय अधिकृत तेज कुमार केसीले बताए । समय समयमा गर्ने शिविरले समाजमा सकारात्मक परिवर्तन ल्याउन भुमिका खेलेको उनले बताए ।

शिविरमा हाडजोर्नी तर्फ १२१ जना, नाक कान घाटी तर्फ १०२ जना, छाती पेट अनि छाला तर्फ २०९ जना र स्त्रीरोग बिशेषज्ञ तर्फ १५ जना सेवाग्राहीले सेवा लिएका गाउँपालिकाका अ.हे.व. (चौथो) मनोज कोरीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा पुर्व प्रदेश सांसद धर्मलाल श्रीवास्तव, गाउँपालिका उपाध्यक्ष गुन्जादेवी मौर्य, आठवटै वडाका वडाध्यक्षहरु, विभिन्न रोग विशेषज्ञ डाक्टरहरु एवं समाजसेवी, वृद्धिजिवीहरु लगायतको उपस्थिती रहेको थियो ।

भोलि शनिवारको दिन समेत शिविरलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । विरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरेको कोरीले बताए ।

प्रतिक्रिया दिनुहोस्