सवारी साधन कारबाहीबाट कपिलवस्तुमा १ करोड ५३ लाख राजस्व सङ्कलन


पालिका पत्र

२ माघ २०८०, मंगलवार १८:३७ मा प्रकाशित


कपिलवस्तु, माघ ०२ ।
कपिलवस्तुमा सवारी साधन कारबाहीबाट १ करोड ५३ लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधन कारबाहीबाट उक्त राजस्व संकलन भएको हो । 

यस  अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाहीमा परेका छन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ७ सय ६ ट्रक,  १ हजार १४४ बस, ४ हजार ६३७ जिप, कार भ्यान, ३ सय ४१ ट्याक्टर, ३ हजार ८४३ मोटरसाइकल, र २ सय २८ टेम्पो कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिष भण्डारीका अनुसार मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरूलाई कारबाही गरिएको बताए ।

कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७७ – ०७८ मा २८ हजार ७ सय ८८ सवारी साधन कारबाहीबाट १ करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८ – ०७९ मा २९ हजार ४३ सवारी साधन कारबाहीबाट १ करोड ८७ लाख ७४ हजार र आर्थिक वर्ष २०७९ – ०८० मा २५ हजार ९ सय ५२ सवारी साधन कारबाहीबाट १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्