यशोधरामा २ दिने निःशुल्क आँखा शिविर हुँदै


पालिका पत्र

२३ माघ २०८०, मंगलवार ०८:३९ मा प्रकाशित

माघ २३ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकामा २ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यशोधरा गाँउपालिकाका अध्यक्ष शिवदयाल तिवारीको विशेष पहल तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र यशोधरा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।

यशोधरा गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावमा कारण आँखा उपचारबाट बन्चित भएका नागरिकहरुका लागि निशुल्क आँखा उपचार गर्ने उदेश्यले सो शिविर संचालन गर्न लगिएको गाउँ पालिकाका अध्यक्ष तिवारीले बताए ।

त्यस्तै, उनले गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुने र उनीहरूको स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार पालिकाको पशुपति शिक्षा मन्दीर आधारभुत बिद्यालय सुठौलीमा आँखाको जाँच तथा निशुल्क मोतियाबिन्दु अप्रेसन गरिने र सामान्य उपचार समेत गरिने छ ।

फागुनको ३ र ४ गते शिविर संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जनाए । निशुल्क आँखा उपचार शिविरमा सहभागि भई लाभ लिन गाउँपालिकाले सम्पूर्ण सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्