छैठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाणगंगाका ३४ विद्यालयहरूको  सहभागिता


पालिका पत्र

२३ माघ २०८०, मंगलवार २०:४६ मा प्रकाशित


बाणगङ्गा, माघ २३ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कपिलवस्तुको बाणगङ्गामा छैठौं  नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि चारनम्बर स्थित बुद्ध रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले पछिल्लो समय नेपालले खेलकुद क्षेत्रमा पनि उल्लेखनीय विकास गरिरहेको भन्दै यसले राष्ट्रलाई विश्व माझ चिनाउन महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । खेलकुदको विकासले राम्रो आर्थिक आम्दानी पनि गर्न सकिने भएकाले बाणगङ्गाका विद्यालयले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय प्रमुख थानेश्वर घिमिरेले शारीरिक, मानसिक लगायत सर्वाङ्गीण क्षेत्रको विकासको लागि खेलकुद निक्कै महत्वपूर्ण हुने भएकाले विद्यालय बाटै यसको सुरुवात गर्नुपर्ने बताउनुभयो । जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन यस्ता खेलले निक्कै महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगङ्गालाई खेलको क्षेत्रमा जिल्लामै उत्कृष्ट बनाउने दाबी गर्नुभयो । व्यक्तित्व विकास देखि देशलाई विश्व माझ चिनाउन खेलकुद क्षेत्र निक्कै महत्त्वपूर्ण रहेकोले यसलाई शिक्षा सँग जोड्न नगरपालिकाले यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

त्यस्तै स्वागत मन्तव्य राख्दै नगर प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बाणगङ्गा नगर भित्रका हरेक विद्यालयमा कयौँ क्षमतावान विद्यार्थी खेलाडी रहेको भन्दै तिनिहरुलाई बाहिर ल्याउन प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

२५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, कबड्डी, विभिन्न मिटरका दौड, लगायतको खेल समावेश गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले बताउनुभयो । प्रतियोगितामा नगर भित्रका ३४ विद्यालयहरूको सहभागिता रहेको पनि उहाँले बताउनुभएको छ ।

शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी. को सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष नगर खेलकुद विकासका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्