शुद्धोधनमा माघ २६ गतेदेखि कृषि तथा पर्यटन महोत्सव : उद्घाटन सभामुख घर्तीले गर्ने

५० हजार दर्शक भित्र्याउँदै ५० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य


पालिका पत्र

२४ माघ २०८०, बुधबार २२:४२ मा प्रकाशित

माघ २४ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजना हुने ‘कृषि तथा पर्यटन महोत्सव’को तयारी तिब्र पारिएको छ । प्रगतिनगर सेवा समाज, शुद्धोधन गाउँपालिका १ ले आयोजना गर्ने दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव यहि माघ २६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन हुन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

मुख्यतः यस क्षेत्रको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँदै समग्र व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सव हुन लागेको महोत्सवका संयोजक समेत रहेका प्रगतिनगर सेवा समाजका अध्यक्ष पुष्पराज अर्यालले बताए । स्थानीय उत्पादन प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ महोत्सव हुन लागेको उनको भनाई छ । महोत्सवले औद्योगिक, पर्यटनलगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने उनले बताए ।

विशेषतः महोत्सवले शुद्धोधन गाउँपालिकासहित कपिलवस्तु जिल्लाकै व्यवसाय र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । महोत्सवमा करिब ९० स्टल रहने उनले जानकारी दिए । महोत्सवमा ५० हजार दर्शक भित्राउँदै करिब ५० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गर्ने उनले बताए ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले यसपटकको महोत्सवलाई ऐतिहासिक बनाउने गरि लाग्न अपिल गरे । उनले महोत्सव शुद्धोधन गाउँपालिकाकै उत्सावका रुपमा स्थापित हुने बताए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गर्न आवश्यक सहयोग गर्न पालिका तयार रहेको उनको भनाइ छ ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कपिलवस्तुसहित अन्य जिल्लामा रहेका उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्धनका लागि समेत महोत्सव महत्वपूर्ण सावित हुने उनले बिश्वास ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले महोत्सवलाई मेलाको रुपमा नभएर महोत्सवको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले पत्रकारिताको क्षेत्रबाट महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन पत्रकारहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे । यस महोत्सवको नामले समग्र शुद्धोधनलाई नसमेट्ने भएकाले सबैले स्वामित्व ग्रहण गर्न सक्ने नाम शुद्धोधन कृषि तथा पर्यटन महोत्सव हुनुपर्ने उनले तर्क राखे ।

महोत्सवका मुख्य आकर्षकहरु दोस्रो प्रगतिनगर डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, विभिन्न झाँकी प्रदर्शनी लगायत महोत्सवका प्रमुख आकर्षकहरु रहेका छन् ।

महोत्सवमा विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया प्रवेश शुल्क निर्धारण गरिएको छ । पत्रकार सम्मेलन समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षता, सदस्य रफिक मोहम्मदको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्