कपिलवस्तुको तौलिहवाका ब्यवसायीलाई कर प्रशिक्षण : ‘कसैले पनि कर छल्ने कार्य नगरौं’


पालिका पत्र

२५ माघ २०८०, बिहीबार ०७:५२ मा प्रकाशित

माघ २५ गते । कपिलवस्तुको तौलिहवाका ब्यवसायीलाई कर प्रशिक्षण प्रदान गरिएको छ । तौलिहवा उद्योग बाणिज्य संघ, कपिलवस्तुको आयोजना तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगर र करदाता सेवा कार्यालय तौलिहवा कपिलवस्तुको सहजीकरणमा तौलिहवा उद्योग बाणिज्य संघमा आवद्ध उद्योगी ब्यवसायी लक्षित सो कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष गयादिन कुर्मी दिपुुले व्यवसायीले कर तिर्नु दायित्व भएको तर कर तथा राजश्व व्यवसायिक हितका लागि समेत खर्च गर्नुपर्ने धारणा राखे । उनले सरकारले लिएका कर सम्बन्धी नयाँ नीति, लगायत व्यवसायीहरूलाई परेका कर सम्बन्धी समस्या समाधान गर्ने र उद्योगी व्यवसायीहरुलाई कर तथा राजश्व सम्बन्धी सचेत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

‘कर तिर्ने मात्र व्यवसायी होइनन्, कर तिर्दा समेत राज्यले व्यवसायीको संरक्षण गर्न सकेन’ उनले भने । आर्थिक मन्दी र खुल्ला सीमानाका कारण व्यवसायीलाई बाधा पुगेको छ, कुर्मीले भने- यही कारण राज्यले तोकिएको कर राजस्व संकलनमा गिरावट आएको छ ।

आन्तरिक राजस्व कार्यालय कृष्णनगर प्रमुख कर अधिकृत उद्धव राज न्यौपाने र कर अधिकृत हेरम्ब राज न्यौपानेले करका दर तथा कर नीतिका बारेमा जानकारी गराउदैँ व्यवसायीहरूका जिज्ञासाका सम्बोधन गरेका थिए । आयकर, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर तथा आर्थिक ऐन २०८० ले दिएका छुट सुविधाका बारेमा करदाता सेवा कार्यालय तौलिहवाका प्रमुख सुरेश बराइलीले प्रशिक्षण दिएका थिए ।

सोही कार्यक्रममा बराइलीले करदाता सेवा प्रणालीका बारेमा प्रशिक्षित गराए । उनले प्यान, भ्याट, अन्त शुल्कका बारेमा जानकारी गराउदै राज्यका निति र नियम बिपरितका कार्य नगर्न सुझाव दिए । उनले भने, ‘कसैले पनि कर छल्ने कार्य नगरौं, राज्यले करका दायरामा जसरी पनि ल्याउँछ ।’

तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करदाता सेवा कार्यालय तौलिहवाका प्रमुख बराइलीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन महासचिव देवेश जैसवालले गरेका थिए । कार्यक्रममा बाणिज्य संघमा आवद्ध उद्योगी ब्यवसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्