बुद्धकालीन सम्पदाहरुलाई पर्यटकीय गन्तब्य बनाउनुपर्छः सभामुख घर्ती


पालिका पत्र

२६ माघ २०८०, शुक्रबार २०:३६ मा प्रकाशित


कपिलवस्तु, माघ २६ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुद्धकालीन सम्पदाहरूलाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भएको छ । पर्यटकको आकर्षक थलोको रुपमा रहेका कपिलवस्तुका बुद्धकालीन सम्पदाहरू, पुरातात्विक क्षेत्रहरूलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउँदै तराईका क्षेत्रमा नगदेबालिलाई प्राथमिकीकरण गर्नुपर्ने बताउनु भएको छ ।

शुद्दोधन गाउँपालिकाको प्रगतीनगरमा आयोजित दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८० को उद्घाटन गर्दै सभामुख घर्तीले शुद्धोधन गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गुरुयोजना बनाएर प्राथमिकताका साथ काम गर्न आग्रह गर्नुभयो । उहाले रुपन्देही र कपिलबस्तु बीचको सेतुको काम शुद्धोधन् सरकारले गर्नुपर्ने समेत धारणा राख्नुभयो ।

स्थानिय सरकार र प्रदेश सरकार बीचको समापुरक बजेटमा आयोजना तथा योजना तय गर्नुपर्ने बताउँदै सभामुख घर्तीले छपिया अनाराठ सडक र छपिया, पिपरहवा पुल, शुद्धोधन रङ्गशाला लगायतका विकास पूर्वाधार निर्माण एवम् सम्पन्नका प्रदेश सरकार सकारात्मक रहेको समेत बताउनु भयो ।

शुद्धोधन गाउँपालिका संरक्षकत्व, प्रगतिनगर युवा समाजद्वारा आयोजित महोत्सवमा बोल्दै गाउँपालिकामा अध्यक्ष कमलेश शरण चौधरीले महोत्सवले सिङ्गो गाउँपालिकाको प्रचारप्रसार र विकासमा कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो । उहाले यहाको समग्र विकासका लागि सबैको हातेमालो हुनुपर्ने उल्लेख गर्दै यहाको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा सहयोग र लगानी गर्नुपर्ने तर्क समेत गर्नुभयो ।

उदघाटन समारोहमा गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला), वडाध्यक्ष तिलकराम यादव लगायतले बोल्दै महोत्सवले यहाको आर्थिक क्षेत्र चलायमान गराउन सहयोग सिद्ध हुने उल्लेख गर्नुभयो ।


प्रगतिनगर सेवा समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षतामा रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख घर्ती, नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य रुद्रलाल बन्जाडे, विष्णु बेल्वासे, वाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिकामा जनप्रतिनिधिहरु, स्थानिय विद्यालयका प्रधानाध्यापक, समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
महोत्सवका निर्देशक शुसिल खत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शुसिल गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्