कपिलवस्तुका स्थानीय सरकारको मूल्याङ्कन : कस्को स्थान कहाँ ?


१७ फाल्गुन २०८०, बिहीबार १९:४९ मा प्रकाशित

फागुन १७ गते । चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिना लाग्दा संघीय सरकारले स्थानीय सरकारको विभिन्न मूल्याङ्कनका नतिजाहरु सार्वजनिक गरेको छ । संघीय सरकारले विभिन्न सूचकमा आधारित भएर आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कन गरेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्य सम्पादन मुल्याङ्कन (कासमू), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) का सूचकहरुमा मूल्याङ्कन गरेको हो ।

वित्त आयोगले स्थानीय सरकारहरुको १४ सूचकमा आधारित भएर कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कपिलवस्तुमा बाणगंगा नगरपालिका प्रथम स्थानमा रहेको छ । ८ फागुनमा सार्वजनिक गरेको नतिजा अनुसार बाणगंगाले ४१.२१ अंक पाएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा बुद्धभूमि नगरपालिका दोस्रो स्थानमा रहेको छ । बुद्धभूमिले ३६.५८ अंक प्राप्त गरेको छ । कपिलवस्तुका स्थानीय तहहरुमा कार्यसम्पादनमा सबैभन्दा कमजोर मायादेवी गाउँपालिका रहेको पाइएको छ । मायादेवीले कार्यसम्पादन मुल्याङ्कनमा १९.४७ अंक मात्र पाएको छ ।

कार्यसम्पादन मूल्याङ्कन अनुसार शिवराज नगरपालिकाले ३२.४४ अंक पाएको छ । आयोगले १७ मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्याङ्कन गरेको जनाएको छ । कपिलवस्तु नगरपालिकाले २६.०२, महाराजगंज नगरपालिकाले २३.०० अंक पाएको छ ।

त्यसैगरी बिजयनगरले २२.१९, कृष्णनगर नगरपालिकाले १५.६८, यशोधरा गाउँपालिकाले २०.५६, र शुद्धोधन गाउँपालिकाले २०.७१ अंक प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको अंक निर्धारण हुने गर्दछ ।

प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ । स्थानीय तहहरुलाई वित्त आयोगले ७६ पूर्णाङ्क कायम गरी कार्य सम्पादन मूल्याङ्कन गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहहरुको स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) गरेको छ । जिल्ला समन्वय समितिहरुले प्रमाणको आधारमा प्रणाली मार्फत स्थानीय सरकारको मूल्याङ्कन गरेको नतिजा सार्वजनिक गरेको हो ।

कपिलवस्तु जिल्लाको १० स्थानीय तहहरुमा बाणगंगा नगरपालिका र बिजयनगर गाउँपालिका यस मूल्याङ्कनमा अग्र स्थानमा रहेका छन् । बाणगंगा नगरपालिकाले वित्तिय सुशासन जोखिम मुल्याङ्नमा ८३.५ प्रतिशत प्राप्त गरी अग्र स्थानमा रहेको हो ।
यसैगरी कुल ७४.५ प्रतिशत सहित बिजयनगर गाउँपालिका दोस्रो स्थानमा छ भने बुद्धभूमि नगरपालिका ७२.५ प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । महाराजगंज नगरपालिकाले ७०, शिवराज नगरपालिकाले ६९, कृष्णनगर नगरपालिका ६५.५ प्रतिशत अंक पाएका छन् ।

कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाले समान ६२.५ प्रतिशत अंक प्राप्त गरेका छन् । यशोधरा गाउँपालिकाले ६० प्रतिशत अंक प्राप्त गरेको छ । स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम प्रत्येक आर्थिक वर्षमा स्थानीय तहहरुको मूल्याङ्कन हुने गर्दछ । यस मूल्याङ्कन अन्तर्गत पाँचवटा विषय क्षेत्रमा एकसय वटा सूचक रहेका छन् ।

यसैबीच, स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा आर्थिक वर्ष २०७९/०८० मा बाणगंगा नगरपालिका ८९.५ अंक सहित अग्रस्थानमा रहेको छ । बुद्धभूमि नगरपालिकाले ८१ अंक पाएको छ । त्यसैगरी बिजयनगर गाउँपालिकाले ७८, शिवराज नगरपालिकाले ७५.२५, महाराजगंज नगरपालिकाले ६९.५, कपिलवस्तु नगरपालिकाले ६८.५, कृष्णनगरले ६७.२५, मायादेवी गाउँपालिकाले ६४.५, शुद्धोधनले ५८, र यशोधराले ५३.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

यस मूल्याङ्कनमा कुल एकसय वटा सूचकमा रहेको मन्त्रालयले जनाएको छ । यस मूल्याङ्कन अन्तर्गत १० वटा विषय क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्