जिल्ला स्तरीय सरसफाई सम्बन्धी समिक्षा : तीनबुँदे स्वच्छता रणनीति तयार


पालिका पत्र

१९ फाल्गुन २०८०, शनिबार ०९:१५ मा प्रकाशित

फागुन १९ गते । जिल्ला स्तरीय सरसफाई सम्बन्धी समिक्षा बैठक तौलिहवामा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले सरसफाई रणनीति बनाउँदै पालिका स्तरीय सरसफाई अभियान संचालन गर्ने निर्णय गरेको छ ।

जिल्लामा रहेका गैरसरकारी संस्थाहरु मार्फत सदरमुकाम सहित जिल्लाका कृष्णनगर, यशोधरा लगायत क्षेत्रमा बिशेष सरसफाई अभियान संचालन गरिने रणनीति तयार गरिएको जनाइएको छ । यसैगरि बैठकले सरसफाई समूहलाई परिचालित गर्ने, सदरमुकाम तौलिहवा बजार सरसफाई गर्न आनीबानीमा सूधारका कार्यक्रम कडाईका साथ संचालन गर्ने, पालिका स्तरीय सरसफाई समिती स्वयम्ले जिल्ला समन्वय समितीमा सुधारका तथ्यांक उपलब्ध गराउनुपर्ने लगायतका निर्णय गरिएका छन् ।

स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारीले थप समुदायका नागरिकलाई सरसफाई र स्वच्छता सम्बन्धी सचेतना फैलाउनु पर्ने सरोकारवालाले सुझाएका छन् । यसैगरी जिल्ला समन्वय समितिका प्रमुख आचार्यले मान्छेको आनीबानीमा परिवर्तन ल्याउन सचेतनाका कार्यक्रमको अति आवश्यक रहेको बताए । हुलाकी राजमार्ग भन्दा दक्षिणका क्षेत्रलाई केन्द्रित गरेर एनजिओ तथा आइएनजिओहरुले स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गर्न समेत आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले स्थानीय तहका प्रमुख/उपप्रमुखलाई आफ्ना सरकारका सूचकहरु प्रति ध्यानाकर्षण गराउँदै मौलिक अधिकारका रुपमा रहेको स्वच्छ वातावरणमा बाँच्ने पाउने नागरिकहरुको हकलाई कायम राख्न आग्रह गरे । प्रजिअ अर्यालले भने, ‘सदरमुकाम भित्रिने पर्यटक तथा यात्रुले नाक खुम्चाएर हिड्नुपर्ने बाध्यतालाई स्थानीय तहले ठुलो कसरत गर्नुपर्छ ।’

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले कृष्णनगर क्षेत्रमा पहिलेको तुलनामा सरसफाइका क्षेत्रमा सुधार भएको दाबी गरे । बिभिन्न योजना मार्फत आफुहरुले नगरक्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अव गर्नुपर्ने मुख्य काम स्वास्थ्यलाई मध्यनजर गछौं ।’

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नो पालिकामा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको बताए । यस अभियानलाई सार्थक तुल्याउनका लागि सकारात्मक सोंचको आवश्यकता पर्ने हुनाले स्थानीय सरकारले चाहेर मात्रै सम्भव नहुने बताए ।

जिसस उपप्रमुख रमेश कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेल, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, शिवराज नगरपालिकाका प्रमुख अजय थापा, बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरी, महाराजगंज नगरपालिकाका उपप्रमुख रीता कुमारी कुर्मी, प्रहरी उपरीक्षक नवरत्न पौडेल, शसस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डे, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी दिपु, बिभिन्न कार्यालयका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुख, स्थानीय तहका स्वास्थ्य फोकल पर्सन, शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्