कार्यसम्पादनमा नगरमा बाणगंगा पहिलो, गाउँपालिकामा बिजयनगर उत्कृष्ट


१ चैत्र २०८०, बिहीबार ०९:१७ मा प्रकाशित

चैत्र १ गते । स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा कपिलवस्तुका १० स्थानीय तहमध्ये बाणगंगा नगरपालिका ७०.२१ अंकसहित पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादन मुल्याकंनमा आर्थिक वर्ष २०७९/८० मा बाणगंगा जिल्लामै उत्कृष्ट भएको हो ।

आयोगको प्रारम्भिक मुल्याकंनमा ४१.२१ अंक प्राप्त गरेको थियो । मुल्यांकन पुनरावलोकन सहितको अन्तिम नतिजामा बाणगंगा नगरपालिकाले ७०.२१ अंक प्राप्त गरि जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो ।

अन्तिम नतिजा अनुसार बुद्धभूमि नगरपालिकाले ६०.५८, शिवराज नगरपालिकाले ५६.४४, कपिलवस्तु नगरपालिकाले ५०.०२, महाराजगंज नगरपालिकाले ४७, कृष्णनगर नगरपालिकाले ३९.६८ अंकभार प्राप्त गरेका छन् । त्यस्तै बिजयनगर गाउँपालिकाले ४६.१९, शुद्धोधन गाउँपालिकाले ४४.७१, यसोधरा गाउँपालिकाले ४४.५६ र मायादेवी गाउँपालिकाले ४३.४७ अंकभार प्राप्त गरेका छन् ।

जिल्लाका गाउँपालिका तर्फ बिजयनगरले कार्यसम्पादनमा उत्कृष्टता ल्याएको छ । गत ८ फागुनमा सार्वजनिक गरेको प्रारम्भिक नतिजामा बाणगंगाले ४१.२१ अंक पाएको थियो ।
कार्यसम्पादन मूल्याङ्कनमा बुद्धभूमि नगरपालिका दोस्रो स्थानमा कायम गरेको छ । बुद्धभूमिले ३६.५८ अंक प्राप्त गरेको थियो ।

मायादेवीले कार्यसम्पादन मुल्याङ्कनमा १९.४७ अंक, शिवराज नगरपालिकाले ३२.४४, कपिलवस्तु नगरपालिकाले २६.०२, महाराजगंज नगरपालिकाले २३, बिजयनगरले २२.१९, कृष्णनगर नगरपालिकाले १५.६८, यशोधरा गाउँपालिकाले २०.५६, र शुद्धोधन गाउँपालिकाले २०.७१ अंकभार प्राप्त गरेका थिए ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको सूचक रहेको छ ।

यसैगरी बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था पनि सूचकमा उल्लेख छ ।

बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गर्ने गर्छ । आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १ दशमलव ६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशतको पनि मुल्यांकन गर्ने गर्छ ।

यसैगरी स्वास्थ्य संस्थामा ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचक छ ।

प्रतिक्रिया दिनुहोस्